नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तमध्ये अझै ६ जनाको प्रतिरक्षा बहस बाँकी भएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिरक्षा बसहले निरन्तरता पाएको छ।
उपराष्ट्रपति कार्यालयका निवर्तमान सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीको पक्षमा प्रतिरक्षा बहस भएको हो।
सचिव टेकनारायणको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे। त्यस्तै केसीको पक्षमा पनि उनैले बहस गरेका छन्।
अर्का अभियसक्त चौधरीको पक्षमा अधिवक्ता राम सुब्बाले बहस गरेका छन्। त्यस्तै अर्का अभियुक्त रामशरण केसीको पक्षमा दुईजना अधिवक्ताले बहस गरे।
सोमबार नै पूर्वगृहमन्त्री खाँणको पक्षमा बहस गर्ने तालिका थियो। तर साढे ४ बजेपछि सोमबारलाई बहस रोकिएको हो।
अब पूर्वगृहमन्त्री खाँण, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ।
न्यायाधीश न्यौपानेले मंगलबारसम्म सबै अभियुक्तको बहस सकिसक्न भनेका छन्। गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्।
Shares
प्रतिक्रिया