प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको दाबी गरेका छन्।
बिहीबार बिहान संसदीय सुनुवाइ विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै कार्कीले गोलाप्रथा लागू भएपछि न्यायिक विचलन रोकिएको दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘गोलप्रथा लागू भएपछि धेरै सिनियर कानुन व्यवसायीसँग छलफल गरेँ। देशभरका न्यायलमा पनि बुझेँ, न्यायिक विचलनको अवस्था छ कि छैन भन्दा ६० प्रतिशतभन्दा बढी घटाउन सफल भएका छौँ।’
संसदीय सुनुवाइ समितिले उनीविरुद्ध परेका उजुरीमा स्पष्टीकरण तथा कार्ययोजना लिन कार्कीलाई आज समितिमा उपस्थित गराएको हो।
संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ।
अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन्।
Shares
प्रतिक्रिया