नक्कली शरणार्थी प्रकरणमा अहिले सरकारी वकिलहरुले जवाफी बहस गरिरहेका छन्।
गत बुधबारदेखि यही बिहीबारसम्म १८ जना प्रतिवादीहरुका वकिलले प्रतिरक्षा बहस गरिसकेपछि सरकारी वकिलहरुले जवाफ दिइरहेका छन्।
बिहीबार सबैभन्दा पहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले बहस गर्दै यो प्रकरणमा संविधानअनुसार मुद्दा चलाइएको बताएका छन्।
प्रतिरक्षा बहसका क्रममा बालकृष्ण खाँणसहितका निर्दोषहरुलाई फसाउने गरी मुद्दा अघि बढाएको भन्दै अधिवक्ताहरुले सरकरी वकिलहरुलाई कारबाही गर्नुपर्ने कुरा उठाएका थिए।
प्रतिवादीहरुको उक्त कुरालाई लिएर सहन्यायाधिवक्ता घिमिरेले यो प्रकरणलाई अदालतसम्म ल्याएकोमा जेल जानुपरे आफूहरु तयार रहेको बताए।
‘सरकारी वकिलहरुले गलत अभियोग लगाएका छन्, यिनीहरुलाई कारबही हुनुपर्छ भन्नु भएछ’, उनले प्रतिवादीहरुतर्फ लक्षित गर्दै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भने, ‘हामीले गलत अभियोग लगाएको होइन। संविधानले लगाएको हो, उहाँहरुलाई संविधानअनुसार मुद्दा चलाउँदा हामी जेल जानुपर्छ भने तयार छौँ श्रीमान्।’
यदि यो प्रकरणमा आफूहरुले जेल जानुपर्ने हो भने प्रतिवादीहरु निस्किने अवस्था छ त भनेर घिमिरेले इजलासमा प्रश्न गरे।
‘यदि हामी जेल जानुपर्छ भने उहाँहरु (प्रतिवादी) निस्किनु हुन्छ त?’, उनले सोधे, ‘त्यसो हो भने हामी जेल जाउँला श्रीमान्। सरकारी वकिलहरु जेल जान तयार छन्।’
Shares
प्रतिक्रिया