कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ।
स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए।
‘हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ’, उनले भने, ‘अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छौँ।’
दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ। जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ।
दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा सङ्क्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो। सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ।
Shares
प्रतिक्रिया