ad ad

समाज


‘अब मसँग कि बहुलाउने कि छोरा तड्पिएको हेर्नेबाहेक अर्को उपाय छैन’

मासिक ३० हजार भारु पर्ने सुई लगातार ५ वर्ष लगाउन भनेपछि हिम्मत हारे
‘अब मसँग कि बहुलाउने कि छोरा तड्पिएको हेर्नेबाहेक अर्को उपाय छैन’

टीकाराम सुनार र चन्दन ठाकुर
असार १७, २०८० आइतबार १४:३९, जनकपुरधाम

उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र- दुःख बिसाउने र सुखको श्वास फेर्ने। जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना हुन्छ। यस्तै चाहना र सपना थियो- महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया) को। 

तर, समय भनेजस्तो कहाँ हुन्छ! ‘बाह्र छोरा, तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैँ बुढेसकाल लागिसक्दा पनि मुखियाको काँधबाट जिम्मेवारी र दुःखको भारी हटेको छैन। लामो समयदेखिको यो गह्रुँगो भारी बिसाएर हलुङ्गो जीवन बाँच्ने उनको सपना सपनामै सीमित भएको छ। 

वंश धान्न तीन सन्तान त छन् तर उनीहरुलाई अंश दिनुपर्ने सम्पत्ति, जायजेथा छैन। माइलो छोरा रामनाथ मुखियाको उपचारमा पुर्ख्याैली सम्पत्तिदेखि कमाइसम्म सबै सकिएको छ। त्यसमाथि थपिएको लाखौँ ऋणले उत्तिममानको बुढ्यौलीसँगै बेचैनी पनि बढेको छ। 

उनका अनुसार माइलो छोरा रामनाथलाई १०/१२ वर्षको उमेरदेखि हार्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो। उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र नेपाल–भारत सीमामा रहेका धेरै अस्पताल पुर्‍याइयो तर पनि रोग निको भएन। 

पुर्ख्याैली सम्पत्तिका रुपमा रहेको करिब तीन बिघा जमिन उपचारमै सकियो। साहु महाजनबाट चक्रीय ब्याजदरमा लिएको लाखौँ ऋण बोझ बन्यो तर समस्या ज्यूँका त्यूँ रह्यो। 

‘उपचारका लागि कहाँसम्म लगिन भनिसाध्य छैन, नेपाल र भारतका कुनै अस्पताल बाँकी छैनन्’, उनले सुनाए, ‘अहिले रोग निको भएन, उपचारमा भएको सम्पत्ति सकियो, लाखौँ रकम ऋण पनि लाग्यो, अब त बहुलाउन मात्रै बाँकी छ।’

सम्पत्ति यिनै सन्तानको हो भनेर सगोलको सम्पत्ति उपचारमै सकियो। जेठो छोराले विदेश गएर कमाएको पैसा पनि भाइकै उपचारमा खर्च भयो। दुःख र सम्पत्तिको पर्वाह नगरी दिनरात छोराको उपचारमा खटिएका उत्तीममान रोग बिसेक नभएपछि अहिले हतास अवस्थामा छन्।

‘मैले उपचारका लागि हरसम्भव प्रयास गरेँ। जायजेथा बेचेँ, ऋण काढेँ। अरु छोराको कमाइ पनि यसैमा लगाएँ। आखिर बाबु न हुँ, उसको दुःख र छटपटाहट कसरी हेरिबस्नु! अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन’, आँखाभरि आँसु टिलपिल पार्दै उनले भने। 

यति गर्दा पनि हिम्मत नहारेका उनले पाँच वर्षअगाडि जब डाक्टरले मासिक ३० हजार भारु पर्ने एउटा सुई लगातार ५ वर्षसम्म लगाउन सिफारिस गरे, तब भने हिम्मत हारेका छन्। उनले भने, ‘त्यतिबेलादेखि दिमाग ठेगानमा छैन। भएको सम्पत्ति त सबै सक्काइसकेँ, अब मसँग कि बहुलाउने कि छोरा तड्पिएको हेर्नेबाहेक अर्को उपाय छैन। सहयोगका लागि गुहार मागेको पनि कुनै ठाउँ बाँकी छैन तर केही सीप लागेन।’

पाँच वर्षअघि स्वास्थ्य परीक्षणपछि डाक्टरले सिफारिस गरेको इन्जेक्सन हो- ‘सान्डोस्टाटिन एलएआर’। नेपालमा महँगो मानिएको यो इन्जेक्सन भारतमा पनि ३० हजार भारु पर्छ। रामनाथले मासिक ३० हजार भारतीय रुपैयाँ तिरेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पाँच वर्षसम्म यो सुई लगाउनुपर्ने छ तर आर्थिक अभावका कारण अहिलेसम्म सुरु नगरिएको मुखियाले गुनासो गरे। 

उनले पाँच वर्षअघि नै थाल्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु नगर्दा आफ्नो स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको बताए। ‘सबै सम्पत्ति सकिएपछि अन्तिम विकल्पका रुपमा त्यो उपचार पद्धति सुझाइयो। सुरुमा भए त केही हुन्थ्यो, अब त पैसा छैन। त्यति महँगो उपचार कसरी गर्नु! न बुबाको सम्पत्ति छ न म केही गरेर जोहो गर्नसक्छु’, उनले भने। 

मुरीमे जते केस नहै तते कर्जा भगेल’
‘पुर्ख्यैली सम्पत्ति सकियो। तीन बिगाह जमिन बेचियो। जग्गा किन्ने ग्राहक नभेटिएका बेला तत्कालको गर्जो टार्न गाउँकै साहुँ महाजनबाट ऋण लिनुपर्‍यो तर के गर्नु रोगभन्दा निर्दयी साहुहरु हुँदा रहेछन्’, गहभरि आँसु पार्दै ज्येष्ठ नागरिक मुखियाले भने, ‘मुरीमे जते केस नहै तते कर्जा भजेल (टाउकोमा जति कपाल छैन, त्यति ऋण भएको छ)।’ 

उनका अनुसार उपचारका लागि एकपटक रु एक ला ऋण लिनपर्‍यो। केही वर्षपछि साँवा चुक्ता गरे पनि साहुले ब्याज मात्रै १६ लाख पुगेको कागज खडा गरी सो रकम तिर्न कानुन र शक्तिको आडमा दुःख दिन थाले। मुखिया परिवारले जग्गा बेचेर चुक्ता गरेको रकमसम्बन्धी त्यो मुद्दा अहिले अनुचित लेनदेन (मिटरब्याज) कसुरमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दर्ता गरिएको छ। 

छोरालाई रोग लागेपछि मानसिक र आर्थिक रुपमा थिल्थिलो भएको मुखिया परिवारले अर्को साहुसँग लिएको रु २५ हजारका लागि काननी झमेला खेप्यो। रु २५ हजार ऋणलाई साहुले रु दुई लाख बनाएपछि धेरै दुःख पाएको उनले सुनाए। अहिले पनि उनीसँग रु १०/१२ लाखजति ऋण नै छ। 

‘साहुले रु २५ हजारको ऋणलाई दुई लाख बनायो। तिर्न नमानेपछि शक्तिको आडमा कानुन, प्रहरी प्रशासन लगाएर समात्न लगायो। त्यसपछि हामी एक लाखसम्म तिर्न तयार भए पनि साहुले दुई लाख नै चाहिन्छ भनिरहेको छ’, रामनाथ मुखियाले दुखेसो पोखे। 

‘जति गुहार्दा पनि सहयोग पाइएन’

सम्पत्ति सकिएपछि उनले रोगी छोरो लिएर बुद्ध बुबा उत्तीममानले नेता, स्थानीय तह, प्रदेश र संघीय सरकारलाई विभिन्न माध्यमबाट गुहारे पनि आश्वासन मात्र पाए। 

‘बुबाको सहारा बन्नुपर्ने बेलामा उहाँ मेरो साहरा बन्नुपरेको छ। उहाँले शान्तसँग श्वास पनि फेर्न पाउनुभएको छैन’, उमेर ३६ वर्ष पुगेका रामनाथले भने, ‘एकातिर रोग त्यसमाथि बुबाको त्यो बेचैनीले निकै पीडा दिन्छ।’

बुबा उत्तीममान्ले भने अझै पनि हरेस खाएका छैनन्। जवान छोरोसँग जोडिएका चार नातिनतिना र बुहारीको खुसीका लागि पनि केही गर्नुपर्ने दबाब छ उनलाई। इन्डो-नेपाल डाक्टर्स फोरमले जनकपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को शाखा खोल्न पहल गरिरहेको सुनेपछि केही आशा भने पलाएको उनले बताए। 

डाक्टरहरुले दिल्लीस्थित एम्समा उपचार गर्न सुझाव दिए पनि पैसा अभावमा छोरालाई त्यहाँ लान नसकेका मुखियाले यहाँ शाखा नखोल्दासम्म दिल्लीमा उपचारको व्यवस्था मिलाउन त्यही फोरमलाई गुहारिसकेको जानकारी दिए। 

फोरमका उपाध्यक्ष डा. पुरुषोत्तमकुमार ठाकुरले पनि मुखिया परिवारको पीडा आफूले नजिकबाट हेरिरहेको र सक्दो सहयोगका लागि पहल गर्ने बताए। उनले फोरम स्थापनापछि आएको यसप्रकारको पहिलो समस्या समाधान गर्ने दायित्व आफूहरुको पनि भएकाले फोरममा प्रतिनिधित्व गर्ने भारतीय चिकित्सकहरुसँग सल्लाह गरेर चाँडै केही काम हुने आशा व्यक्त गरे। 

उनले भने, ‘दुवै देशका नागरिकको गुणस्तरीय स्वास्थ्यमा पहुँच र जटिल स्वास्थ्य समस्यामा परेकालाई सहयोग एवं सहजीकरण गर्ने उद्देश्यले चिकित्सकको साझा मञ्च बनाएका छौँ। त्यो मञ्चले कानुनी मान्यता पनि पाइसकेकाले स्वास्थ्य संस्था खोल्ने र मुखियाजस्ता जटिल समस्याग्रस्त नागरिकहरुको पक्षमा पनि केही काम गर्ने छौँ। उहाँको विषयमा ध्यानाकर्षण भइसकेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .