ad ad

समाज


आजदेखि भारी वर्षाको सम्भावना

आजदेखि भारी वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ८, २०८० सोमबार ७:२२, काठमाडौँ

आज (सोमबार) देखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजदेखि भोलि (मंगलबार) दिउँसोसम्म मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना देखिएको हो। 

केही दिनयता वर्षा जारी रहे पनि ठूलो वर्षा भएको थिएन। तर आज र भोलि भारी वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बागमती प्रदेशअन्तर्गत दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। 

यस्तै राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

‘अहिले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, उनले भनिन्।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .