ad ad

समाज


दैनिक सातवटा हात्तीसहित २२ जनशक्ति परिचालन गर्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिन सकेन

दैनिक सातवटा हात्तीसहित २२ जनशक्ति परिचालन गर्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिन सकेन

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १०:७, चितवन

बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले गर्दै आएको प्रयास असफल बनेको छ। 

पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७ र २८ का गाउँमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले विगत केही समययता प्राविधिक टोली खटाएको छ।  

बाघ नियन्त्रणको लागि गएको साउन २५ गतेदेखि नै निकुञ्जको टोली परिचालन भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले बाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ। 

नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन्। 

बाघको खोजीमा दैनिक सातवटा हात्तीसमेत परिचालन हुँदै आएका छन्। हात्तीको संख्या आवश्यकताअनुसार थपघट हुने गरेको छ। 

खोजीको क्रममा टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको तिवारीले बताए।

अनुमानित आठ वर्षको यो बाघ मानव बस्तिको छेउ छाउमा आउने र पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो। 

‘बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो। तर, यो बाघ किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ,’ श्रेष्ठले भने। 

बस्ती क्षेत्र आसपासमा बस्ने अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको उनले बताए।

निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव छ। बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्योल छ। 

केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो।

निकुञ्जको खोरमा अहिले पनि पाँचवटा बाघ रहेका छन्। कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्ष अघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो। 

यो अन्दाजी १० वर्षको भाले बाघ हो। गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ। अर्को देवनगरबाट तीन वर्ष अघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ पनि निकुञ्जको खोरमा छ।

तीन वटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ। 

सौराहामा रहेका दुई बाघमध्ये एउटा यही साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ। उक्त बाघ अन्दाजी चार वर्षको भाले हो। 

अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ पनि छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .