ad ad

समाज


स्टाफ नर्स प्रेमिकाको हत्या आरोपी ६ वर्षपछि पक्राउ, के थियो घटना?

स्टाफ नर्स प्रेमिकाको हत्या आरोपी ६ वर्षपछि पक्राउ, के थियो घटना?

नेपालखबर
असोज ९, २०८० मंगलबार ११:३०, काठमाडौँ

६ वर्षअघि गर्भवती प्रेमिकाको हत्या गरेर फरार भएका एक युवकलाई धादिङ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

सप्तरी काचन घर भएका ३५ वर्षीय अरुणकुमार मिजारलाई घटनाको ६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मिजारले विराटनगर महानगरपालिका– ५ की ३२ वर्षीया ललिताकुमारी रामको ०७४ सालमा हत्या गरेका थिए। 

स्टाफ नर्ससमेत रहेकी ललिता आफूसँगको यौन सम्बन्धबाट गर्भवती बनेको थाहा पाएपछि मिजारले विवाह नगरी हत्या गरेका प्रहरी अनुसन्धानले देखाएको छ। हत्या हुँदा ललिता दुई महिनाकी गर्भवती थिइन्।

मिजारलाई यही असोज ५ गते सप्तरी काचन बोदेबर्साइन नगरपालिका– ८ काचनबाट पक्राउ गरिएको एसपी मिश्रले जानकारी दिए।

‘२०७४ भदौ २१ गते मोरङबाट काठमाडौं आएकी ललिताको धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग नजिकै अँधेरीखोलामा १२ असोज २०७४ मा शव फेला परेको थियो,’ एसपी मिश्रले भने, ‘अनुसन्धानको क्रममा मिजारले नै उनको हत्या गरेको पुष्टि भएको छ।’

ललिता र मिजारबीचको सम्बन्धबाट ललिता गर्भवती रहेको खुलेपछि उनले हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। 

प्रहरीले फेला पार्दा ललिताको शव सडिसकेको थियो। मृतकको भाइ निर्मल दास रामले ललिताले लगाएको कपडा चप्पलको आधारमा त्यतिबेला उनको सनाखत गरेका थिए। 

ललितको हत्यापछि फरार भएका मिजार यस बीचमा मलेसिया, दुबई, भारतलगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएको खुलेको छ। 

‘नेपाल आएको मौका पारेर बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहयोगमा धादिङबाट गएको प्रहरी टोलीले उनलाई सप्तरीबाटै पक्राउ गरेको हो,’ मिश्रले भने। 

मिजारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .