ad ad

समाज


अमेरिकामा रहेकी नातिनीको न्वारान नेपालबाटै

अमेरिकामा रहेकी नातिनीको न्वारान नेपालबाटै

अमेरिकामा रहेकी नातिनीको न्वारान नेपालबाटै गराइँदै


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १६:२४, रामपुर (ओखलढुङ्गा)

बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन्। नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए। 

‘काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो। तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा’, घिमिरेले भनिन्, ‘अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ।’

डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए। नातिनीको जन्म पनि उतै भयो। तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो। 

अमेरिकाको न्युयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रीता दाहाल पुरोहितले अनलाइनमार्फत भनेअनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी भए। आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए। 

सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताए। वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ। 

न्वारान कर्ममा सहभागी विक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिन्छन्। ‘प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो’, उनले भने। 

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीया जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाइन्। उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताइन्। 

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राखे। ‘आफ्नो संस्कारअनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,’ उनले भने। 

तर शिशुकी आमा रीता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिनअघि नै छोरीको नाम रुहानी राखिएको सुनाउँछिन्।

‘बच्चा जन्मिनुअघि नै डाक्टरलाई नाम दिनुपर्ने रहेछ। जन्मनेबित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ। गर्व महसुस गरेँ’, उनले भनिन्। नामकरण गर्दा पुरोहितले भनेझैँ आफैँ कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाए।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ। मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ। भौतिक रुपमा जतिसुकै टाढिए पनि सांस्कृतिक रुपमा जोडिन इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाइदिएका छन्। 

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गरे। अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .