गत बिहीबार काठमाडौँको थानकोटबाट प्रहरीले बरामद गरेको २ किलो सुन पनि चिनियाँकै भएको खुलेको छ।
पक्राउ परेका तीन जना नेपाली भरियामात्रै भएको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए।
रसुवा नाकाबाट २ किलो सुन लिएर काठमाडौँ आउने क्रममा थानकोटमा रसुवाकै तीन जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा गोसाइकुण्ड गाउँपालिकाका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेका छन्।
उनीहरूले गत बिहीबार राति पौने १० बजे नागढुंगा चेकपोष्टमा बागमति प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीको गेयर बक्स नजिकै लुकाएर ल्याएको २ किलो सुन बरामद भएको थियो।
प्रहरीका अनुसार उनीहरुले रसुवा पारि चिनियाँ क्षेत्रमा पुगेर सुन ल्याएको र काठमाडौँ ल्याएर चिनियाँ नागरिकलाई नै बुझाउने जिम्मा लिएका थिए।
उक्त सुन लिन काठमाडौँमा बसेका चिनियाँ नागरिक २७ वर्षीय चेन झिवेइ सोह्रखुट्टेबाट पक्राउ परेको एसपी रेग्मीले बताए।
रसुवा नाकाबाट सुन लिएर आएका तीन जना नेपालीलाई उक्त सुन चेनलाई नै बुझाउन भनिएको थियो। चिनियाँले सुन पठाएको र नेपालमा बुझ्ने पनि चिनियाँ नै देखिएपछि यो सुन चिनियाँकै भएको प्रहरीको अनुमान छ।
थप अनुसन्धानका लागि तीन नेपाली र एक चिनियाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।
Shares
प्रतिक्रिया