ad ad

समाज


वृद्धाश्रममा जातीय विभेद गर्ने सञ्चालकविरुद्ध जाहेरी दर्ता

वृद्धाश्रममा जातीय विभेद गर्ने सञ्चालकविरुद्ध जाहेरी दर्ता

जाहेरी दर्ताका क्रममा आफ्ना सहयोगीका साथमा पीडित शोभा सुन्दास (अघिल्लो)।


नेपालखबर
मंसिर २४, २०८० आइतबार २१:२, काठमाडौँ

जातीय विभेद गरेको अभियोगमा मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ। 

मोरङकै उर्लाबारी नगरपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया शोभा सुन्दासले आफूलाई जातकै कारण वृद्धाश्रमबाट निकालिएको भनी सञ्चालक आचार्यविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी हुन्। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुर मुद्दा शीर्षकमा जाहेरी दर्ता गरिएको जानकारी दिए। 

‘जाहेरी दर्ता भएर प्रक्रिया अघि बढेको छ’, डीएसपी दाहालले आइतबार साँझ नेपालखबरसँग भने, ‘पीडितहरू अलि अबेला दिउँसो ३ बजेतिर मात्रै आइपुग्नु भएकाले पीडक पक्राउको प्रक्रिया भोलिबाट अगाडि बढ्छ।’

शोभाकी सहयोगी उर्लाबारी नगरपालिका–१ की वडासदस्य टीका भुजेलले आज आफूहरू प्रहरी कार्यालय गएर जाहेरी दर्ता गराएको बताइन्। 

‘मंसिर २० गते ठाडो उजुरी मात्र दिएका थियौँ’, उनले भनिन्, ‘आज (म‌ंसिर २४ गते) जाहेरी दर्ता गरायौँ, न्याय पाउने विश्वास गरेका छाैँ।’

जाहेरीअनुसार यही मंसिर १४ गते परिवारविहीन दलित (दमाई) समुदायकी वृद्धा शोभा सुन्दास पूर्वसल्लाहबमोजिम आफू बस्ने उर्लाबारी नगरपालिका–३ वडा कार्यालयको सिफारिस लिएर जागृति वृद्धाश्रम पुगेकी थिइन्। सुरुमा वृद्धाश्रम सञ्चालक ६५ वर्षीया भुवनेश्वरी आचार्यले उनलाई वृद्धाश्रमभित्र लगिन्। तर सिफारिस पत्र हेरेपछि दमाईं जातको भन्ने थाहा पाइन् र यस्तो जातको हुँदैन भनी शोभालाई बाहिर निकालेर फिर्ता पठाइन्। 

पीडित शोभा सुन्दासले जाहेरीमा लेखेकी छन्-

म जाहेरवाली शोभा सुन्दास वर्ष ६२ को वृद्ध महिला हुँ। हाल मेरो कुनै सन्तान छैनन्। मेरो पनि राजमान सुन्दास ३५ वर्षदेखि बेपत्ता हुन भएको हुँदा म एक्लै कष्टकर जीवन बिताइरहेको छ। म शारिरीक रूपमा बाध्य भई खुट्टा टेक्नसमेत गाह्रो, अप्ठ्यारो छ। मेरो स्वास्थ्य तथा आर्थिक अवस्थासमेत नाजुक भएको हुँदा उर्लाबारी  नगरपालिका वडा नं. १ को वडा सदस्य टीका भुजेलले हामी वडाबाट सिफारीस बनाई दिन्छौँ, तपाईं जागृति वृद्धाश्रम बूढीगंगा-१, पुष्पलाल चोकमा बस्नुहोस् भनी भन्नुभएको तथा जागृति वृद्धाश्रमलाई फोन गरी आश्रमले पठाइदिन भनेपछि वडासदस्य टीका भुजेलले जानुहोस् भन्दा मेरो पनि चित्त बुझी उर्लाबारी न.पा. वडा नं. ३ की कार्यालयको सिफारीस लिएर मिति २०८०/०८/१४ गते बिहानको अ. ९ः०० बजे अस्मिता दर्नाल (दर्जी) लाई साहरा माँगी जागृति वृद्धाश्रममा आइपुगी आश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई भेटी मैले वडाबाट लिएको सिफारिस दिएपछि उहाँले सिफारीस पढी सुन्दास भनेको के हो भनी सोध्दा मैले दर्जी दमाई जाति हो भनी बताएपछि तत्काल वडासदस्य टीका भुजेललाई फोन लगाई उहाँ दलित सानो जातको हुनुहुँदो रहेछ, हामी राख्दैनौँ भनी मलाई तिमी सानो जातको रहेछौ, आश्रममा आजसम्म हामीले यस्तो जात राखेको छैन, चुलामा जान, पानी छुन मिल्दैन, पानी चल्दैन, हामी कोही पनि तिमीले छोएको खाँदैनौँ, तिमी हाम्रो आश्रमभित्र पस्न, बस्न पनि मिल्दैन, तत्काल यहाहाँबाट निस्की जा, मैले थाहा नपाएर भित्र ल्याएँ, अरूले थाहा पाए भने मार्छन् भनी मलाई जातीय तथा छुवाछूतको भेदभाव हुने कार्य गरी अपमानजनक ढंगले वृद्धाश्रमबाट निकाली जागृति वृद्धाश्रमकी सञ्चालकले नेपालको संविधानको धारा २४, १८ तथा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को ३ (१) र (२) ऐ. को दफा ४ (१) र (२) (क) (ख) विपरीतको कसुर गरेको हुँदा विपक्षी जागृति वृद्धाश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई तत्काल पक्राउ गरी ऐ ऐनको दफा ७ (१) (क) बमोजिम हदैसम्म सजाय गरी पाऊँ भनी यो जाहेरी दरखास्त पेस गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .