ad ad

समाज


चीनबाट फर्किएका नेपालीलाई जब विमानस्थल हेल्थ डेस्कले सहजै छाडिदियो...

चीनबाट फर्किएका नेपालीलाई जब विमानस्थल हेल्थ डेस्कले सहजै छाडिदियो...

यज्ञराज जोशी
माघ २०, २०७६ सोमबार ११:१,

रमेश श्रेष्ठ(नाम परिवर्तन)ले बेइजिङमा हुँदा नेपाल पुगेपछि १४ दिनसम्म छुट्टै (आइसोलेसनमा) बस्नुपर्ने हल्ला सुनेका थिए।

तर, सोमबार बिहानै ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिँदा उनी सरासर बाहिर निस्किए। हल्ला सुनेजस्तो त्रिभुवन विमानस्थलमा न उनलाई कसैले केरकार गर्यो, न त आइसोलेसनमा नै लगियो।

चीनको वुहानमा पहिलोपटक देखा परेको कोरोना भाइरस यतिखेर विश्वका विभिन्न देशसम्म फैलिसकेको छ। हालसम्म ३ सय बढीको ज्यान लिइसकेको उक्त भाइरस नेपालमा नफैलियोस् भनेर स्वास्थ्य मन्त्रालयले विमानस्थलमा विमानस्थलमा विशेष हेल्थ डेस्क सञ्चालन पनि गरेको छ। डेस्कमा विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण गरिन्छ।

सुरुमा थर्मल गनबाट शंकास्पदको पहिचान गरिन्छ त्यसपछि शंका लागेमा सम्बन्धित व्यक्तिलाई थप चेकजाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिन्छ। तर सोमबार नेपाल आएका कसैलाई पनि टेकु अस्पताल ‘रिफर’ गरिएन।

मन्त्रालयले चुस्त रुपमा नेपाल आउनेहरुको स्वास्थ्य परीक्षण गरिरहेको भनिरहँदा चीनबाट आएका रमेशलाई सहजै विमानस्थल डेस्कले छाडिदियो। यसलाई कतिपयले लापरबाहीको रुपमा लिइरहेका छन् भने रमेश आफैँ पनि चकित देखिन्छन्।

‘बेइजिङमा नेपाल पुग्दा विशेष परीक्षण हुने, १४ दिन अलग्गै राखिने भन्ने सुनेका थियौँ तर यहाँ पुग्दा त्यस्तो केही देखिएन। मसँगै आएका सबै यात्रु सरासर बाहिर निस्कियौं’, रमेशले नेपालखबरसँग भने।

जिम्मेवारी पूरा गरेको छुः जनस्वास्थ्य अधिकृत
सोमबार बिहान विमानस्थलको हेल्थ डेस्कको जिम्मेवारीमा थिए जनस्वास्थ्य अधिकृत शिवशंकर महतो। बिहान ३ बजेर ५ मिनेटतिर आएका सबै यात्रुको अवस्था आफूले चेकजाँच गरेको उनी बताउँछन्।

‘मैले सबै यात्रुको अवस्थाबारे मोनिटरमा हेरेको थिएँ। सबै नर्मल देखिएपछि कसैलाई रोक्नुपरेन। शंकास्पद भएमात्रै हामीले उनीहरुलाई थप चेकजाँचका लागि शुक्रराज अस्पताल पठाउने हो’, उनले स्पष्ट पारे।

महतोका अनुसार ३८ डिग्री सेन्टिग्रेटभन्दा बढी तापक्रम भएको बिरामीलाई थप चेकजाँच गर्ने गरिएको छ।

डाक्टर र नर्स दुवै थिएनन्
मोनिटरमा चेकजाँच गर्नेसँगै चिकित्सक र नर्स पनि हेल्थ डेस्कमा खटिनुपर्ने हो। तर, सोमबार बिहान भने उनीसँग डाक्टर र नर्स दुवै थिएनन्। आइतबार बेलुका निस्केका डाक्टर सोमबार बिहान ७ बजेमात्रै त्यहाँ पुगेको हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले बताए।

‘आइतबार साँझ पुराना तीन जना डाक्टरहरु फिर्ता जानुभएको थियो’, उनले भने, ‘नयाँ डाक्टरहरु बिहान ७ बजेमात्रै विमानस्थल पुगेका हुन्। उनीहरुलाई मैले नै पास भनिदिएको हुँ।’ 

आफू आइतबार राति १२ बजेसम्म विमानस्थलमै रहेको उनले बताए। तर, पछि शिवशंकर महतोलाई जिम्मा दिँदै आफू आराम गर्न गएको उनी बताउँछन्।

‘हेल्थ डेस्कमा डाक्टर नै चाहिन्छ भन्ने छैन’, उनले भने, ‘त्यहाँ खटाइएका सबै जनशक्ति दक्ष हुन्। उनीहरुले चेकजाँच नगरी कोही पनि मान्छे बाहिरिएको छैन।’

तीन चिकित्सक थपिँदै 
विमानस्थलमा सोमबारदेखि ३ जना चिकित्सकहरु थपिन लागेको हेल्थ डेस्क प्रमुख पाण्डेले बताए।

‘यसअघि चार जना चिकित्सक हुनुहुन्थ्यो। स्वास्थ्य विभागले आजैदेखि थप तीन जना चिकित्सक पठाएको छ’, उनले भने।

शंकास्पद नदेखिए घरमै १४ दिन
कोरोना भाइरसको प्रभाव १४ दिनपछि देखिने बताइए पनि चीनबाट आएका यात्रुलाई अहिले नै छुट्टै १४ दिन राख्न आवश्यक नभएको टेकु अस्पतालका निर्देशक वासुदेव पाण्डेले बताए।

‘हामीले आउने सबै यात्रुको सबै डिटेल लिएर राख्छौँ। उनीहरुलाइ ज्वरो आएको छ। शंकास्पद छ भने छुट्टै राखेर उपचार गर्छौ’, उनले भने, ‘यदि कुनै शंका देखिएन भने घरमा छुट्टै बस्नुस् भनेर पठाउँछौँ। केही पर्यो भने तुरुन्त सम्पर्क राख्न भनेका छौँ।’

चीनबाट आएकालाई १४ दिन छुट्टै राख्नेबाट थप मन्त्रालयमा छलफल भइरहेको र मन्त्रालयले राख्नुपर्छ भने आफूहरु राख्न तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .