शुक्रबार राति दाङको भालुवाङमा भएको बस दुर्घटनामा परी वरिष्ठ कवि, समालोचक एवं चिन्तक डा. ताराकान्त पाण्डेको निधन भएको छ।
बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गएराति १०ः३० बजे भालुवाङनिर राप्ती नदीमा खस्दा अन्य ११ यात्रुसँगै पाण्डेको पनि मृत्यु भएको हो।
दुर्घटनामा काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय पाण्डे, मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतसहित १२ जनाको मृत्यु भएको हो। दुई मृतकको पहिचान खुल्न बाँकी छ।
यसैबीच लेखक तथा पत्रकार हरिगोविन्द लुइँटेलले आफ्ना साथीसमेत रहेका कवि, समालोचक एवं चिन्तक डा. ताराकान्त पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्। साथै उनले पाण्डेलाई श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्।
‘अत्यन्तै दुःखद खबर। हिजो (शुक्रबार राति) को भालुवाङ बस दुर्घटनामा परी वरिष्ठ कवि, समालोचक, चिन्तक साथी डा. ताराकान्त पाण्डेको दुःखद निधन भएको खबरले स्तब्ध भएको छु’, लेखक लुइँटेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डा. पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली तथा शिलाजीलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना!’
भालुवाङ बस दुर्घटना : काठमाडौँका ५ जनासहित यी हुन् २२ घाइते (सूची)
Shares
प्रतिक्रिया