अर्थमन्त्री डा. प्रकाशशरण महतले सडकले विकासको धेरै ठूलो सम्भावना खुलेको बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यसो भनेका हुन्।
उनले आफ्नो पहलमा मध्यपहाडी लोकमार्ग नुवाकोटबाट लगिएको बताए।
‘पहिला यहाँबाट लैजाने योजना थिएन। पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो’, उनले भने, ‘काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर प्रस्ताव गरेको हुँ। अहिले लोकमार्ग बनेको छ। अब यो ठाउँको शुभदिन सुरु भएको छ। हामीले यसको भरपूर उपयोग गर्नुपर्छ।’
उनले पहिला शिवपुरी गाउँपालिका पिछडिएर बिजुली र यातायातको सुविधा नभएको स्मरण गरे। ‘धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ। ०४६ सालपछि विकास गाउँ पस्यो’, उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो।’
महोत्सवमा विभिन्न उत्पादन प्रदर्शनीमा राखिएकोमा उनले खुसी व्यक्त गरे। ‘रसायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ। सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ। ४५ मिनेटमा काठमाडौं पुगिन्छ’, महतले भने।
उत्पादनको सम्भावनालाई प्रयोग गर्न पनि उनले आग्रह गरे।
‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ। पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ’, उनले भने, ‘अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ। उत्पादन देखाउँदा अनुदान पाइछ। यसको उपयोग गर्न म अनुरोध गर्दछु।’
नुवाकोटमा डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटोका धेरै योजना आएका उनले बताए। ‘त्यसपछि केही समय रोकिएको थियो। अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ’, महतले भने,‘ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ। सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट छ। उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट छ। सिँचाइ योजना पनि राखिएको छ।’
Shares
प्रतिक्रिया