ad ad

समाज


सवारी दुर्घटना न्यूनीकरणका लागि विज्ञका सुझाव यस्ता छन्

सवारी दुर्घटना न्यूनीकरणका लागि विज्ञका सुझाव यस्ता छन्

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८० बिहिबार ७:५१, काठमाडौँ

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सवारी दुर्घटनाबारे छलफल गरिएको छ। समितिले सडक सुरक्षा र नागरिक अधिकार, सडक दुर्घटनाको अवस्था, सडक पूर्वाधार तथा सरकारको भूमिकालगायतका विषयमा जानकारसँग छलफल गरेको हो। 
 
छलफलमा स्वतन्त्रता अभियान नेपालका सल्लाहकार मिलन धरेलले दुर्घटना न्यूनीकरण गर्न सरकारले तत्कालै सबै सडकमा सङ्केत अनिवार्य राख्नुपर्नेमा जोड दिए। 

निर्माणाधीन सडकमा सडक बत्ती, घुम्तीमा विपरीत दिशाबाट सवारी आएको देखिने ‘रिफ्लेक्टर’ जस्ता सङ्केत राख्नुपर्ने उनको सुझाव छ। ‘प्रदेश र स्थानीय तहलाई सडक हस्तान्तरणसँगै सडक सुरक्षा दिग्दर्शन तथा मार्गनिर्देशनसमेत दिनुपर्छ,’ उनले भने। 
 

सल्लाहकार धरेलले सार्वजनिक यातायात व्यवस्थापनका लागि ठूला सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने बताए। उनले सडक दुर्घटनाका कारण नेपालको कूल गार्हस्थ उत्पादनमा छ दशमलव तीन प्रतिशत क्षति पुगेको जानकारी दिए। 

समिति सदस्य रामचन्द्र राईले दुर्घटना न्यूनीकरणको लागि चालकको स्वास्थ्य परीक्षणसँगै आराममा ध्यान दिन आवश्यक रहेको बताए। ‘मानवीय र प्राविधिक त्रुटिका कारण हुने दुर्घटना तत्काल कम गर्न सडकको अवस्थामा सुधार गर्नुपर्छ,’ उनले भने। 

समिति सदस्य कुमार दसौदीले सवारी चालकबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेकाले पनि दुर्घटना बढेको बताए। लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। 
 
सांसद गोपीबहादुर सार्की आछामीले ‘बाटो नै विकास’ भन्ने भाष्य स्थापित भएको, मापदण्डबिनाको सडक, सडकको नियमित मर्मतसम्भार नहुनु र सवारीसाधनको परीक्षण नहुनुले दुर्घटना बढेको बताए। 
 
समितिका सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले अन्तर मन्त्रालय समन्वयको अभावलाई अन्त्य गर्नुपर्ने र तीनै तहको समन्वयमा सडकसम्बन्धी कानुन तर्जुमा गर्नुपर्नेमा जोड दिइन्।
 
बुधबार भएको समितिको बैठकमा सन् २०२१ मा विश्वव्यापीरुपमा ११ लाख ९० हजार व्यक्तिले सडक दुर्घटनामा जीवन गुमाएको तथ्य प्रस्तुत गरिएको थियो। सडक दुर्घटनामा जीवन गुमाउनेमा आधाभन्दा बढी सङ्ख्या १८ देखि ५९ वर्ष उमेर समूहको छन्। 

नेपालमा गत चैत मसान्तअघिको एक वर्षमा दुई हजार दुई सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएक थिए भने २८ हजार आठ सय ५३ जना घाइते भएका सरकारी तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .