प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगको दायित्व भएको बताएका छन्। त्यसका लागि सरोकारवालाले पनि साथ दिनुपर्ने उनले बताए।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले यसो भनेका हुन्।
पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितको टोलीसँग छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हार्मोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको गुनासो गरे।
उनले संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरूको भूमिका महत्वपूर्ण रहने बताए।
प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरूले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायको काममा संविधान र कानुनको पालना भए नभएको निगरानी गरिरहनु पर्ने औँल्याए।
उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भीड वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए।
प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाए।
Shares
प्रतिक्रिया