चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा बस्दै आएकी १४ वर्षीया बालिका शालीन पोखरेल गत शनिबार मृत भेटिइन्।
बिहान १० बजेतिर कोठाको पंखामा स्काउटको डोरी लगाएर भुण्डिएको अवस्थामा भेटिएकी थिइन् उनी।
२ वर्षदेखि उक्त होस्टलमा बस्दै आएकी शालीनको हत्या भयो कि आत्महत्या भन्ने विषयले केही दिनयता निकै चर्चा पायो।
उक्त चर्चाको सुरुवात शालीनकै बुवा दीपेन्द्र पोखरेलले गरेका थिए। आफ्नी छोरी होस्टेलको कोठामा मृत भेटिएपछि बलात्कारपछिको हत्या नै भएको हुनुपर्छ भन्ने दाबी उनले गरेका थिए।
दीपेन्द्रले खुलेरै विद्यालय तथा होस्टल कर्मचारीमाथि आरोप लगाउँदै हिँडे।
उनै दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराए।
गत शनिबार मृत भेटिएकी शालीनको एक हप्तापछि अर्थात् आइतबार पोस्टमार्टम रिपोर्टबाट बलात्कार पुष्टि नभएको खुल्यो।
शालीनको परिवारले यो रिपोर्ट निष्पक्ष नभएको भन्दै अझै पनि बलात्कारपछि नै हत्या गरिएको बताउँदै आएका छन्। बलात्कार नभएको प्रतिवेदन पाएको प्रहरीले यसमा अझै गहन अनुसन्धान भइरहेको दाबी गरेको छ।
शालीनको मृत्युको कारण बलात्कारपछिको हत्या भएको परिवारले दाबी गर्दै मिडियाहरूमा बोल्न थालेपछि घटना थप शंकास्पद बन्दै गयो।
शंकास्पद बनाउने काम परिवारबाटै भयो। उनको शालीनकी आमासँग सम्बन्धविच्छेदपछि अर्की बिहे गरेर काठमाडौं बस्दै आएका दीपेन्द्रको अभिव्यक्तिले बलात्कारपछिको हत्या नै हो भन्ने परिसकेको थियो।
गालामा लागेका चोट, धुँदाधुँदै छोडेको एउटा जुत्ता, दीपेन्द्र नआउँदै फोडिएको ढोकालगायत विषयलाई लिएर उनले शंका गरेका थिए।
दुई वर्षअघि दीपेन्द्र र श्रीमती सगुनको सम्बन्धविच्छेद भएको थियो। पारिवारिक विच्छेदपछि शालीनलाई रत्ननगरको उक्त होस्टेल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ।
पुरानो सम्बन्ध तोडेर सगुन र दीपेन्द्र दुवैजनाले अर्को बिहे गरिसकेका छन्। पाकिस्तानी पुरुषसँग बिहे गरेकी सगुन दुबईमा बस्दै आएकी थिइन् भने दीपेन्द्र काठमाडौंमा।
शालीनको खर्चको जिम्मेवारी आमा सगुनले पठाउँदै आएकी थिइन्। तर बेलाबेलामा दीपेन्द्रले पनि सामानहरू किनेर पठाउने र पकेट खर्चसमेत दिने गरेको बताएका छन्।
उनको हेरचाहका लागि पनि सगुनले माइतीघरनजिकैको होस्टलमा राखेकी बताइन्छ। सानै उमेरमा आमाबुवाबाट अलग्गिएिर बस्न विवश शालीनले यस्तो निर्णय लिनुका पछाडि विखण्डित परिवारका कारण परेको मानसिक असरको कारण हुन सक्ने आकलन गरिएको छ।
उनको मामाघर रत्ननगर नगरपालिका-१५ माधवपुरमा छ। होस्टलनजिकै शालीनकी हजुरआमाकी दिदीको घर थियो। बेलाबेला उनको हेरचाह उनै हजुरआमाले गर्दै आएकी थिइन्।
तर जुन दिन घटना भयो, त्यसको अघिल्लो दिन अर्थात् शुक्रबार साँझ पनि उनी हजुरआमासँगै कुरा गरेर होस्टेल फर्किएकी थिइन्।
त्यसको भोलिपल्ट बिहान उनी कोठामै झुण्डिएको अवस्थामा अवस्थामा भेटिइन्। यता, शालीनसँगै अन्य तीनजना बालिकाहरू कोठामा बस्दै आएका थिए।
उनीहरूको भनाइअनुसार शालीनसहित सबैले शनिबार बिहानै कपडा धुने, नुहाउने काम सकेका थिए। नुहाएपछि घाम ताम्दै होस्टलको मैदानमा खेलेका थिए।
त्यसपछि खाना खाने बेलामा कोठामा पसेकी शालीन तल नझर्दा उनीहरूले होस्टल वार्डेनलाई बोलाएका थिए। भित्रबाट ढोका लक गरेकी उनलाई बोलाउँदा नबोलेपछि ढोका फोडिएको बालिकाहरू बताउँछन्।
त्यसो त, आत्महत्यालाई बल पुग्ने गरी शालीनको सुसाइड नोट पनि प्रहरीले फेला पारेको थियो।
उक्त अक्षर शालीनकै हो कि होइन भन्ने यकिन गर्न प्रहरीले परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको छ।
त्यसको प्रतिवेदन अझै आइ नसकेको चितवनका प्रहरी प्रवक्ता एवम् डीएसपी श्रीराम भण्डारीले बताए। प्रहरीका अनुसार सामान्य आँखाले हेर्दा उनका अक्षर मेल खाएको पाइएको छ। यद्यपि, यसको वैज्ञानिक पुष्टि विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनबाट मात्र हुनेछ।
Shares
प्रतिक्रिया