कास्कीको तत्कालीन साराङकोट गाविसका सचिवसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको अभियोगमा तत्कालीन सराङकोट गाविसका सचिव मोदनाथ रेग्मीसहित पाँच जना विशेष अदालतबाट दोषी ठहर भएका हुन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेला बोलाएर व्यक्तिलाई दिएको कसुरमा उनीहरुलाई दोषी ठहर गरेको हो।
त्यसबेलाका गाविस सचिज रेग्मी र झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई अदालतले दोषी ठहर गरेको हो।
उनीहरूलाई जनही १ वर्ष कैद र १ लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको अदालत स्रोतले जनाएको छ।
तर सबै जना ज्येष्ठ नागरिक भएकोले सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषको फैसलामा उल्लेख छ। गुरुङलाई ७० प्रतिशत र अरूलाई ७५ प्रतिशत छुट दिन निर्णय भएको छ।
Shares
प्रतिक्रिया