ad ad

समाज


मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

सागर न्यौपाने
फागुन ७, २०७६ बुधबार १५:५९,

सानेपाकी मुना कार्कीको हत्या र उनकै घरमा बस्ने कामदार विजय चौधरीको आत्महत्या प्रकरणको रहस्य पत्ता लगाउन प्रहरीले तेस्रो पक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ।

प्रहरीले यसअघि विजयले नै मुनाको हत्या गरेर आफूले आत्महत्या गरेको बताउँदै आएको थियो। तर, घटनाको १० दिन बितिसक्दा पनि प्रहरीले अपराध गर्नुको पछाडि विजयको मनसाय पत्ता लगाउन सकेको छैन।

यससँगै, विजय एक्लैले कुनै हतियारको प्रयोग नगरी मुनाको हत्या गर्न सम्भव थियो कि थिएनजस्ता प्रश्न पनि अनुसन्धानरत प्रहरीका सामु उब्जिएका छन्। त्यसैले यो घटनामा तेस्रो पक्षको संलग्नता रहेको हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले त्यसतर्फ अनुसन्धानको सुई सोझ्याएको हो।

घटनाको कारण तत्काल पत्ता लगाउन विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने भएकाले अनुसन्धानलाई फराकिलो पारिएको र शंकास्पदमाथि छानबिन भइरहेको प्रहरीको भनाइ छ।

‘हामीलाई शंकास्पद लागेका केही पक्षबारे अनुसन्धान गर्दैछौँ,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘आवश्यकताअनुसार कानुनसम्मत रुपमा अन्तर्वार्ता (बयान) लिनेकाम जारी छ।’

उनले अनुसन्धानको दायराभित्र को को परेका छन् भन्ने खुलाउन चाहेनन्। तथापि मुना र विजय दुवैजनासँग सम्बन्धित व्यक्तिहरुमाथि अध्ययन थालिएको छ।

त्यसका लागि विजयले प्रयोग गरेको मोबाइलको कल डिटेलको अध्ययन भइरहेको छ। प्रहरीले विजयको मोबाइलको कल डिटेल प्राप्त गरिसकेको छ। यद्यपि, घटना भएकै दिनको विवरण प्राप्त नभएकाले त्यो माग गरिएको परिसर स्रोतले जानकारी दियो।

मुना र विजयले प्रयोग गर्ने मोबाइल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। सोमबार रिपोर्ट आउने बताएपनि अझैसम्म ल्याबको रिपोर्ट प्राप्त नगरेको एसएसपी राईले दाबी गरे।

‘फरेन्सिक ल्याबको रिपोर्ट पाएका छैनौं। मैले आजपनि प्राविधिक साथीहरुलाई निर्देशन दिएको छु, अलि रिपोर्ट आउन ढिलाइ भइरहेको छ,’ उनले भने, ‘कल डिटेलका आधारमा केही व्यक्तिहरुलाई सोधपुछ गर्छौँ।’

मुनाको हत्यापछि उनका पति अर्जुन किरियामा बसेका छन्। किरिया सकिएपछि उनीसँग पनि सोधपुछ गरिने प्रहरीले बताएको छ।

‘उहाँ किरियामा हुँदा हुँदै बयान लिने कुरा न्यायोचित हुँदैन, किरियाबाट निस्किएपछि उहाँसँगपनि कुराकानी गर्नैछौँ,’ एसएसपी राईले भने।

माघ २७ गते बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति मन्दिरबाट घर आउँदा मुना र विजयलाई मृत फेला पारेका थिए। उनको गाडी चालक दीपेन्द्र डंगोल त्यसबेला घरमा थिएनन्। दीपेन्द्रले अर्जुनलाई गाडी बुझाएर सानेपामै रहेको आफ्नै कोठामा गएको बयान दिएका छन्।

घटनाको महानगरीय प्रहरी परिसर जावालाखेल र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

बाहिर आएर अर्जुन चिच्याए
प्रहरीले घटनाको तथ्य पत्ता लगाउने अर्जुनको घरमा राखिएको सीसीटीभीको फुटेजलाई विभिन्न कोणबाट विश्लेषण गरिरहेको छ। प्रहरीले घटनाको दृश्य देखेपछि अर्जुन घरबाहिर आएर कराइरहेको देखिएको बताएको छ।

११ बजेर २० मिनेटमा अर्जुन गाडी लिएर घरमा आइपुग्छन्। त्यसपछि गाडी पार्क गरेर हातमा रातो झोला लिएर उनी भित्र प्रवेश गरेको दृश्य पनि सीसीटीभीमा कैद भएको एसएसपी राईले बताए।

‘भित्र प्रवेश गरेका अर्जुन केही बेरपछि चिच्याउँदै बाहिर आएर कम्पाउन्डभित्रै यताउता गर्दै अलाप गरेको देखिन्छ,’ राईले भने।

अर्जुनले घर फर्कदा मुनालाई रगतपिच्छे अवस्थामा र विजयलाई मृत अवस्थामा फेला पारेको बताएका थिए। प्रहरीले मुना भान्सामा लडेको अवस्थामा र भुइँतलामा विजयको शव फेला पारेको थियो।

विजयको शवमाथि नाइलनको डोरी चुँडिएको भेटिएको थियो। कार्कीको घरमा राखेको सीसीटिभी फुटेजबाट विजयले नै मुनालाई भान्सामा पछारेर मरणासन्न बनाइ आफूले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको थियो।

याे पनि:
सानेपा घटना : छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु 
सानेपा घटना : सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु 
पूर्वसचिव कार्कीको विलाप : मुना तिमी किन चिच्याइनौ? 
मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .