ad ad

समाज


चुस्त व्यवस्थापनमा पशु चिकित्सा परिषद्को छलाङ, पायो आईएसओको मान्यता

चुस्त व्यवस्थापनमा पशु चिकित्सा परिषद्को छलाङ, पायो आईएसओको मान्यता

नेपालखबर
असार ८, २०८१ शनिबार ७:७, काठमाडौँ

नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तरको व्यवस्थापन प्रणाली भएको कार्यालयका रूपमा मान्यता पाएको छ।

मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन (आईएसओ) ले काठमाडौँको त्रिपुरेश्वरस्थित यस परिषद्को कार्यालयलाई ‘९००१:२०१५ आईएसओ’ प्रदान गरेको हो।

परिषद् नेपालको पशु चिकित्सा क्षेत्रको नियामक निकाय हो। यो मान्यता पाउने नेपालका सार्वजनिक संस्थानहरूमध्ये परिषद् पहिलो रहेको परिषद्का रजिस्ट्रार डा मनोजकुमार शाहीको दाबी छ।

योसँगै परिषद्ले दिने सबै सेवाहरू र कार्यालय व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको उनको भनाइ छ। उनका अनुसार, यो मान्यता प्रदान गर्नुअघि सार्वजनिक खरिदलगायत सुशासनका आयामहरू पनि हेरिएको थियो।

यो मान्यता प्रदान गर्ने क्रममा आन्तरिक लेखापरीक्षणको काम क्वालिटी म्यानेजमेन्ट सिस्टम, नेपालनामक संस्थाले गरेको थियो भने बाह्य लेखापरीक्षण क्वालिटी कन्ट्रोल सर्टिफिकेट, इन्डियाले गरेको थियो।

परिषद्ले विशेष गरी नेपालका पशु चिकित्सकहरूको लाइसेन्सिङ परीक्षा लिने, नाम दर्ता गर्ने, भेटेरिनरी पढाइ हुने शैक्षिक संस्थाको नियमन गर्ने, पशु चिकित्सकहरूको क्षमता विकासका लागि निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने, भेटेरिनरी सेवाको गुणरस्तरका लागि जनशक्तिहरूको आचारसंहिता कार्यान्वयन गर्ने लगायतका कार्य गर्छ।

आफ्ना सदस्यहरूलाई परिषद्ले करिब ७ करोड प्रकाशनको अनलाइन पुस्तकालयमा पहुँच दिइएको जानकारी पनि उनले दिए। उनका अनुसार, आईएसओ प्रमाणीकरण गर्दा लिइएका आधारहरूमा आईएसओको निर्देशिकाअनुसार काम भए–नभएको, कार्यालय व्यवस्थापन (तथ्यांक व्यवस्थापन, सरसफाइ, कर्मचारीको कार्यक्षमता र कामको प्रभावकारिता) र दिइने सेवाको कानुनी र प्रकृयागत व्यवस्था हेरिएको थियो। त्यस्तै सेवा प्रवाहमा उत्तरदायित्व, जावफदेहिता, पारदर्शिता र छरितोपन, हरेक सेवाको कार्यविधि तथा निर्देशिका भए-नभएको, सेवाग्राहीप्रति कर्मचारीको व्यवहार, सेवा लिनुभन्दा अघि, सेवा दिने समय र सेवा लिइसकेपछिको अवस्थाको मूल्यांकन र कार्यालयले आफूले गरेको कामप्रतिको जवाफदेहिताको मूल्यांकन समेत यस क्रममा गरिएको थियो।

‘सुशासनका आयामहरूलाई मध्यनजर गर्दै परिषद्लाई नमुना सरकारी संस्थाका रूपमा परिचय दिलाउन लागिपरेको बताउँछन्। विशेष गरी जवाफदेहिता, सहभागितामा आधारीत निर्णय, पारदर्शिता, कानुनी शासन, दूरदर्शिता लगायतका कुरालाई परिषद्ले अनुसरण गर्दै एक उदाहरणीय सरकारी अड्डाको रूपमा परिचित गराउन सफल भएका छौँ,’ डा शाही भन्छन्, ‘यस परिषद्‌का धेरै सदस्यहरू सरकारी सेवाको विशिष्ट पदहरूमा समेत हुनुहुन्छ। अहिले परिषद् पूर्णरूपमा डिजिटलाइज भएको छ। सबै सेवाग्राहीले आफू बसेको ठाउँबाटै द्रुत गतिमा सबै सेवा लिने प्रणालीको विकास गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .