ad ad

समाज


मुस्ताङमा दरवारको पर्खालमुनि भेटिएको मानव खप्पर कसको हो?

मुस्ताङमा दरवारको पर्खालमुनि भेटिएको मानव खप्पर कसको हो?

नेपालखबर
असार १७, २०७६ मंगलबार ११:१,

खानेपानीको पाइप र र विजुलीको तार अड्याउन पोल खन्ने क्रममा मुस्ताङको लोमन्थाङ वरिपरि लगाइएको पर्खालभित्र मानव खप्पर भेटिएको छ।

लोमन्थाङको सुरक्षाका लागि लगाइएको पर्खालको गेट हुँदै खानेपानी र विजुली लोमन्थाङभित्र लैजाने क्रममा मानव खप्परसहित केही हड्डी भेटिएको हो।

2 9

6 7मानव खप्परसँगै भेटिएका हड्डीका टुक्राहरु

स्थानीयवासी टासी गुरुङका अनुसार, पर्खालसँगैको जमिन खन्ने क्रममा सोमबार ३ फिट मुनि मानिसको मानव खप्परपछि त्यसले त्यहाँ ठूलो हल्लीखल्ली सिर्जना भएको छ।

‘लोमन्थाङ जस्तो पुरातात्विक महत्वको ठाउँमा स्थानीय मुखियासँग गनु सल्लाह नगरी खन्ने काम गर्दा मानव खप्पर भेटियो’ गुरुङले भने, ‘भेटिएको टाउको के गर्ने भन्ने अन्योल सिर्जना भएको छ।’

जहाँ मानव खप्पर भेटिएको छ, त्यो ठाउँका कारण पनि यसले निकै ठूलो रहस्यको सिर्जना गरेको छ।

उपल्लो मुस्ताङको लोमन्थाङ अहिले वस्तीको रुपमा रहेपनि सुरुमा यो मुस्ताङ्गी राजाको दरवार क्षेत्र थियो।

मुस्ताङका दोस्रो राजा आङबोन साङ्बोले आफ्ना लागि यहाँ दरवार निर्माण गरेका थिए, जो अद्यपी छँदैछ।

‘दरवार बनाएपछि त्यसको सुरक्षाका लागि वरिपरि, तर अलिक परैदेखि पर्खाल लगाउने कामपनि उतिबेलै गरिएको थियो’ मुस्ताङ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले नेपालखबरसँग भने, ‘लोमन्थाङ (दरवार) भित्र प्रवेश गर्ने गेटैमा मानव खप्पर भेटिएको हो।’

०६५ मा पहिलो संविधान सभाले गणतन्त्र घोषणा गर्नुअघिसम्म पनि मुस्ताङमा ‘स्थानीय राजतन्त्र कायमै’ थियो। जिग्मे परवल विष्ट ‘मुस्ताङ्गी राजा’ को पदवी पाएका थिए। जाडोयाममा काठमाडौँ वा पोखरा बस्ने उनी अरु बेला चाहिँ लोमन्थाङ दरवारमै बस्थे।

 MG 0388 Lलोमन्थाङ

मुस्ताङका दोस्रो राजाको पालामा लोमन्थाङको मैदानी भागमा दरवार र फराकिलो घेरा बनाएर पर्खाल बनाइएपछि त्यहाँ विस्तारै डाँडाडाँडामा बस्ने उपल्लो मुस्ताङवासीहरु दरवारको परिसरभित्र आएर बस्न थाले।

‘लोमन्थाङलाई अहिले पनि त्यही पुरानो पर्खालले घेरेको छ, खासमा त्यो दरवारको पर्खाल हो’ मुस्ताङ्गी राजखलकसँग निकट रहेका सांसद विष्टले भने, ‘पर्खालको गेटैमा मानव खप्पर गाडिएको अवस्थामा भेटिएपछि हामीपनि छक्क परेका छौँ।

उपल्लो मुस्ताङमा अहिले पनि मरेको मान्छेलाई गाड्ने चलन छैन। बरु मान्छे मरेपछि मृत शरीरलाई काटेर टुक्राटुक्रा पारी गिद्धलाई खुवाउने चलन छ।

‘अलिक धनीको लास चाहिँ जलाउने प्रचलन छ’ सांसद विष्टले थपे, ‘लासलाई गाड्ने चलन नभएको ठाउँमा, त्यो पनि दरवारको गेटमा मानव खप्पर भेटिनु आफैमा अनौठो हो।’

‘भेटिएको मानव खप्पर दरवार बनेपछि गाडिएको पक्कै होइन’ अर्का स्थानीयवासी टासी नोर्बुले फोनमा भने, ‘राज्य हत्याउन मुस्ताङमापनि पहिले पहिले लडार्इं–झगडा भइरहन्थ्यो, सायद युद्धका क्रममा मारिएको मान्छेको टाउको हो कि?’

मुस्ताङ आफैमा चिसो ठाउँ हो। चिसो ठाउँमा मान्छेको शरीर हत्पती सड्दैन, गल्दैन। यसै आधारमा सांसद विष्ट त्यो टाउको ७ सय वर्ष पुरानो हुनसक्ने अनुमान गर्छन्। र, यो पनि बताउँछन् कि, यसले दुई कुराको संकेत गरेको छ।

एक, गाडिएको अवस्थामा भेटिएको टाउको त्यहाँ दरवार बन्नु अघि अर्थात् ७ सय बर्षअघि नै गाडिएको हुनुपर्छ।

3 6

 

4 6मानव खप्पर भेटिएको स्थान

दुई, अहिले मान्छेको लासलाई टुक्राटुक्रा पारी गिद्धलाई खुवाउने वा जलाउने गरिएपनि त्यो समयमा गाड्ने चलन प्रचलनमा रहेको हुनसक्छ।

भेटिएको टाउको र हड्डी स्थानीयवासीले सुरक्षित राखेका छन्। धार्मिक संस्कार पुरा गरी त्यसलाई जलाउने वा गाड्ने भन्नेबारेमा स्थानीयवासीबीच छलफल भइरहेको गुरुङले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .