ad ad

अटो


युरो–४ लागू गर्ने कार्ययोजना पास भएपछि बल्झियो सवारीसाधन मापदण्डको बहस

युरो–४ लागू गर्ने कार्ययोजना पास भएपछि बल्झियो सवारीसाधन मापदण्डको बहस

वसन्त अर्याल
फागुन २२, २०७६ बिहिबार ८:३८,

सरकारले मन्त्रिपरिषदबाट एक वर्षभित्र यातायात क्षेत्रमा युरो–४ मापदण्ड लागू गर्ने कार्ययोजना पास गरेपछि नेपालमा अब युरो–४ कि युरो–६ मापदण्ड लागू गर्ने बहस बल्झिएको छ।

सडकको धूलो र पुराना सवारीसाधनको धूवाँले वाक्क भएका सर्वसाधारणहरु ‘मर्निङवाक’ गर्न समेत गाह्रो भएकोले वायु प्रदूषण रोक्न आवश्यक कदम सरकारले चालोस् भन्ने पक्षमा देखिन्छन्।

व्यवसायीहरुले समेत युरो–६ लागू गर्दा कुनै समस्या नहुने बताइरहेका बेला मन्त्रिपरिषदले युरो ३ बाट एक वर्षभित्र युरो–४ मा जाने कार्ययोजना पास गरेको हो।

काठमाडौंमा वातावरण प्रदूषण बढी हुनुमा सवारीसाधनबाट निस्किने धूवाँ मुख्य कारण रहेको मन्त्रिपरिषदले हालै स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनाले समेत उल्लेख गरेको छ।

‘नेपाल भित्रिने सवारीसाधनमा युरो–४ मापदण्ड तत्कालै लागू गरिनेछ,’ कार्ययोजनामा भनिएको छ, ‘प्रदूषण मापदण्ड लागू गरेर पास हुने सवारीसाधनलाई मात्र हरियो स्टिकर दिइनेछ ।’

कार्ययोजनामा ठूलाखाले निर्माण उपकरण तथा सवारीका लागि एक वर्षभित्र अलग्गै युरो मापदण्ड तोकिने उल्लेख छ। नेपालमा हालसम्म युरो–३ मापदण्डका सवारीसाधन नै भित्रिने गरेका छन्।

तर कार्ययोजनालाई अपर्याप्त मान्नेहरु पनि छन्। युरो ६ मापदण्ड विश्वले अपनाइरहेको अवस्थामा नेपालले त्यसको अनुशरण गर्नुपर्ने उनीहरु बताउँछन्।

उच्च प्रदूषण
मापदण्डअनुसार आँखाले देख्न नसकिने मसिना धूलाका कण प्रतिघनमिटर हावामा ४० माइक्रोग्राम हुनुपर्छ । तर जाडो महिनामा औसत हिसाबले पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुग्ने गरेको छ।

यसकारण युरो–६
युरोपेली देशहरुले पेट्रोलियम पदार्थ तथा प्रविधिको विकाससँगै प्रदूषण कम गर्न मापदण्ड बनाउने गरेका छन्।

सन् २००३ देखि लागू भएको युरो–३ को तुलनामा युरो–६ ले ८६ प्रतिशतले नाइट्रोजन अक्साइड कम उत्सर्जन गर्छ। युरो–३ मा ०.१८ ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्नेमा युरो–६ मा ०.०८ प्रतिशत नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ।

युरोपमा युरो–४ २००५ मा लागू भएकोमा युरो–६ सन् २०१५मै लागू भइसकेको छ। युरो–४ भन्दा ६ को मापदण्डले वातावरण प्रदूषण कम गर्न धेरै मद्दत गर्छ।

तर नेपाल सरकारले किन युरो–४ नै लागू गर्ने कार्ययोजना पास गर्यो ?

युरो–४ लागू भए पनि युरो–६ सवारीसाधन नै आउँछन्ः हमाल
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाल नेपालका अधिकांश सवारीसाधन भारतबाट आउने र थोरै मात्र तेस्रो मुलुकबाट आउने हुँदा त्यहाँ युरो ६ उत्पादन भए नेपालमा पनि युरो–६ नै आउने बताउँछन्।

‘भारतमा बीएस ६ का गाडी मात्रै उत्पादन हुन थालिसकेका छन्। अन्य मुलुकले युरो–६ का गाडी नै उत्पादन गर्ने हुँदा बजारमा त्यही नै आउँछन्’, उनले भने, ‘नेपालले युरो–४ को मापदण्ड लागू गरे पनि अधिकांश युरो ६ बराबरकै आउँछन्।’

‘मापदण्ड निर्माण त वातावरण मन्त्रालयले गर्ने हो’
उनले नेपालमा कुन मापदण्डको गाडी चलाउने भन्ने वातावरण मन्त्रालयले तयार पार्ने बताए।

‘युरो–४ कि युरो ६ भन्ने मापदण्ड वातावरण मन्त्रालयले बनाउने हो। हामीले उसले बनाएको मापदण्ड कार्यान्वयन गर्ने हो,’ उनले भने।

महंगी बढ्नसक्छ, क्रमिक रुपमा अघि बढ्छौँः वातावरण मन्त्रालय
यता वन तथा वातावरण मन्त्रालयका योजना महाशाखा प्रमुख डा. सिन्धु प्रसाद ढुंगानाले क्रमिक रुपमा अघि बढ्ने योजनाका साथ नयाँ कार्ययोजना आएको बताए।

‘वन तथा वातावरण मन्त्रालयलाई त युरो–६ बराबरको मापदण्ड लागू गर्न पाए हुन्थ्यो भन्ने नै लाग्छ,’ उनले भने, ‘तर सबै मन्त्रालयसँगको सुझावअनुसार हामी अघि बढ्ने हो।’

उनले एकैपटक युरो ३ बाट युरो–६ मा जाँदा बजारमा महंगी बढ्ने हुँदा एक वर्षभित्र युरो–४ मा जाने भनेर लागेको बताए।

‘हामीले वातावरण मात्रै हेर्नेभन्दा पनि अरु मन्त्रालयको सुझावअनुसार काम गर्ने हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले युरो–६ लागू गरौँ, त्यहीअनुसारको मापदण्ड बनाउन हामीलाई सुझाव दिन्छ भने त हामी तयार छौँ’, उनले भने।

युरो–६ लागू गर्दा कुनै समस्या हुँदैनः व्यवसायी
नाडा अटोमोबाइल्स एसोसिएसनका सचिव तथा नारायणी अटोमोबाइल्स प्रालिका म्यानेजिङ डाइरेक्टर अनुप कुमार बराल नेपालमा युरो ६ लागू गर्दा कुनै समस्या नहुने बताउँछन्।

‘पहिला देशको लागि के राम्रो हुन्छ हेर्ने हो। व्यवसायीहरुले देशले बनाएको कानुन मान्नुपर्छ’, उनले भने।

साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधर नेपालमा युरो ६ मापदण्ड लागू नगर्ने भए भारतमा बिक्री नभएका पुराना गाडी नेपालमा थुप्रिन सक्ने बताउँछन्।

याे पनि :

विश्व युरो ७ मापदण्डमा जाँदै, नेपाल धुवाँ फाल्ने गाडीकै ‘डम्पिङ साइट’?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .