ad ad

समाज


सरकारले भन्यो- बीपी राजमार्ग दसैँअघि खुल्दैन

सरकारले भन्यो- बीपी राजमार्ग दसैँअघि खुल्दैन

नेपालखबर
असोज १७, २०८१ बिहिबार १९:३, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुलाउन नसक्ने बताएको छ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअगाडि सञ्चालनमा ल्याउन नसकिने बताएका हुन्।

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँअगाडि सञ्चालनमा ल्याउन सम्भव नरहेको स्पष्ट पारे।

यद्यपि राजमार्गको अवरोध हटाउने प्रयास भने जारी राखिने उनको भनाइ थियो।

‘बीपी राजमार्गको अवस्था देख्दा दसैँअगाडि त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निष्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौँ। किनभने त्यहाँ गाडीहरू रहेका छन्। गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ। सकेसम्म हामी प्रयास गर्दै दसैँअगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौँ। त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी चलाउन मिल्ने गरी नै काम गर्न सकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ,’ उनले भने।

खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे।

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ।

त्यसमध्ये ७७४ स्थानको पहिरो हटाएर २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए। 

हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए। 

हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए। 

त्यस्तै क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किमि, बीपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किमि, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमि, कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ किमी र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किमी हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए। 

त्यसैगरी क्षति भएको पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, बीपी राजमार्गको सुनकोसी, खैरेनीटार, बीपी राजमार्गको सुनकोसी, खुर्कोट, बीपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल र कान्ति राजपथको बागमती पुल रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .