ad ad

समाज


पाटन अस्पताल भन्छ: कोरोना संक्रमितको चाप धान्न सक्छौँ, अन्य सेवा बन्द गर्दैनौँ

पाटन अस्पताल भन्छ: कोरोना संक्रमितको चाप धान्न सक्छौँ, अन्य सेवा बन्द गर्दैनौँ

सागर न्यौपाने
चैत १३, २०७६ बिहिबार १६:४०,

दैनिक १७ सय बढीले ओपीडी सेवा लिने पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठान सधैँको तुलनामा बिहीबार अपरान्ह सुनसान थियो। इमर्जेन्सी र भर्ना भएकाबाहेक खासै बिरामी थिएनन्। एम्बुलेन्सले इमर्जेन्सी वार्डमा भने निरन्तर बिरामी ओसारिरहेको थियो। इमर्जेन्सीमा अन्य बेलाको जस्तो भीड नभएपनि प्रायः सबै बेड भरिएका थिए। 

कोरोना संक्रमितको उपचार यही अस्पतालमा गर्ने सरकारको घोषणासँगै यहाँ आवश्यक तयारीका लागि चहलपहल सुरु भएको छ। डाक्टर र प्रशासनका कर्मचारी सबै काममा लागेका छन्।

बिहीबार भीसी, रजिस्ट्रार, निर्देशक सबै अस्पतालमै थिए। कोरोनाको उपचार यहाँ गर्ने भनेपछि अन्य बिरामीको संख्या ८० प्रतिशतले घटेको प्रशासनले जानकारी दियो।

‘दैनिक २ वटा सस्पेक्टेड केस (कोरोनाको आशंका गरिएका बिरामी) जचाँउन आउँछन्,’ अस्पतालका निर्देशक प्रा.डा. विष्णु शर्माले नेपालखबरसँग भने।

अस्पतालमा कोरोनाको उपचारबारे आधिकारिक जानकारी दिन तोकिएका व्यक्ति उनै हुन्।

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि भनेरै २० वटा आईसीयू बेड तयारी अवस्थामा राखिएको जानकारी उनले दिए।

त्यहीबेला विमानस्थलबाट कोरोना आशंका गरिएका एक जना बिरामीलाई लिएर एम्बुलेन्स आइपुग्यो। ती बिरामी लिन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएका चार जना विमानस्थल पुगेका थिए।

विमानस्थलबाट ल्याइएको व्यक्तिको पहिले ज्वरो परीक्षण गरियो र आइसोलेसनमा वार्डमा पठाइयो। पाटनमा कोरोनाको आशंका गरिएका बिरामी राख्न ६ वटा आइसोलेसन बेड तयार गरिएको छ। बिहीबार ती सबै बेड भरिएका थिए।

‘पहिला ५ दिनमा एकजना जचाँउन आउँथे, सोमबार कोरोना भाइरस पोजिटिभ भएको एकजना भेटिएपछि परीक्षणका लागि आउनेको संख्या ह्वात्तै बढेको छ,’ डा. शर्माले भने, ‘त्यसैले आइसोलेसन बेड भरिभराउ छ।’

बिहीबार पनि अमेरिकाबाट फर्केका एक जनालाई आइसोलेसनमा राखिएको उनले बताए।

पाटन अस्पतालले भीड नहोस् भनेर पहिला ज्वरो जाँच गर्न थालेको छ। चीनको वुहानमा कोरोना संक्रमण फैलेको समाचार सार्वजनिक भएसँगै पाटन अस्पतालले यसको उपचारका लागि तयारी थालेको र आइसोलेसन वार्ड बनाइएको डा. शर्माले बताए।

‘कोरोनाको आशंका गरिएका बिरामीलाई पहिले क्षयरोग जाँच गर्ने भवननजिकै ज्वरो परीक्षण गर्ने, त्यहाँ बिरामीको हिस्ट्री लिएपछि कोरानाको लक्षण देखिएको अवस्थामा आइसोलेसन लैजाने गरिएको छ। एकैपटक आइसोलेसनमा लग्ने होइन,’ निर्देशक शर्माले भने, ‘प्रारम्भिक ज्वरो, खोकी र श्वासप्रश्वास परीक्षण गरेपछि थप इन्भेस्टिगेसन गर्नुपर्ने भएमा आइसोलेसनमा राख्छौं।’

‘बिरामीको चाप थेग्न सक्छौँ’
कोरोना संक्रमितको संख्या बढेपनि आफूहरु त्यसलाई थेग्न सक्षम रहेको अस्पतालका रजिस्ट्रार डा. पारसकुमार आचार्यले बताए। जनशक्ति चुस्त रुपमा व्यवस्थापन गरिएको उनको भनाइ थियो।

‘अहिलेको अवस्थामा बढ्नसक्ने चापलाई ख्याल गरेर डाक्टरहरु स्यान्डबाइ राखेका छौं,’ उनले भने, ‘हामीले विश्लेषण गरेको भन्दा बढी चाप भयो भने पनि त्यसलाई हामी म्यानेज गर्न सक्छौँ।’

पाटनमा पर्याप्त मात्रामा विशेषज्ञ डाक्टर भएकाले त्यस्तो जटिल अवस्था नआउनेमा उनी विश्वस्त थिए।

‘उपचार गर्नु हाम्रो दायित्व हो, कोरोना लागेको कुनै पनि बिरामी बचाउन हामी सम्पूर्ण प्रयत्न लगाउँछौँ। त्यसमा हामी कुनै कमी हुन दिने छैनौँ,’ डा. आचार्यले थपे।

अन्य सेवा बन्द नहुने
पाटन अस्पतालमा सुत्केरी गराउनेको संख्या उल्लेख्य छ। कोरोना संक्रमितको उपचारका लागि तयारी गरिएपनि अस्पतालले दिने अन्य सेवा नियमित राख्ने रजिस्ट्रार डा. आचार्यले बताए।

‘हाम्रो अस्पतालमा यसअघि गरिँदै आएका कुनै पनि उपचार रोक्दैनौँ। सबै डाक्टरहरुलाई सोहीअनुसार निर्देशन पनि दिएका छौं,’ उनले भने, ‘कोरोनाको उपचार छुट्टै बिल्डिङमा गरिने हुँदा नियमित उपचार रोक्नुपर्ने आवश्यकता छैन।’

तर, क्षयरोग जाँच गर्ने ठाउँसँगै ज्वरो क्लिनिक पनि राखिएकोमा त्यहाँका कर्मचारी असन्तुष्ट थिए।

‘क्षयरोगको जाँच गराउने ठाउँमा ज्वरो क्लिनिक राख्नु ठिक होइन,’ एक कर्मचारीले गुनासो गरे, ‘संक्रमित बिरामी यहाँ आउँदा अरुलाई पनि सर्न सक्छ।’

यद्यपि, अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिएको निर्देशक डा. शर्मा बताउँछन्।

‘उपचारमा डाक्टरले लगाउनुपर्ने पीपीई अनिवार्य गरेका छौं, अहिले केस कम भएकोले केही थान बनाउने काम पनि गरिरहेको छौं,’ उनले भने, ‘आइसोलेसनमा राखिएका जुनसुकै व्यक्ति भेट्न जाँदा पनि पीपीई अनिवार्य लगाउन निर्देशन दिएका छौँ।’

टेकुले नधान्ने भएपछि पाटनमा कोरोना संक्रमितको उपचार
बुधबार साँझ ५ बजे स्वाथ्यमन्त्री भानुभक्त ढकालले तेस्रो संक्रमित भेटिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अब कोरोना संक्रमितको उपचार पाटनमा अस्पतालमा गरिने घोषणा गरे।

त्यसअघि बुधबार बिहान उनले पाटन अस्पताल निरीक्षण गरेका थिए। त्यहाँ उनले कोरोना उपचारका लागि बनाइएको आईसीयू, रुघाखोकी क्लिनिकको निरीक्षणका साथै डाक्टरहरुसँग पनि केहीबेर कुराकानी गरेका थिए।

पत्रकार सम्मेलनमा उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई माध्यम अस्पताल बनाउने र संक्रमितको उपचार पाटनमा गर्ने जानकारी दिए। टेकुमा ४ वटा आइसोलेसन बेड र ३ वटा आईसीयू मात्र छ। संक्रमित बढ्दै जाँदा टेकुमा उपचार सम्भव नभएको देखिएपछि पाटनमा उपचार गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो।

दोस्रो व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि सरकारले मंगलबारदेखि एक साताका लागि देशव्यापी लक डाउन घोषणा गरेको थियो। संक्रमित तेस्रो व्यक्ति फेला परेपछि मन्त्री ढकालले पाटन अस्पताल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .