ad ad

समाज


कोरोना परीक्षणः ८१ जनाको रिपोर्ट आउँदै, कुन प्रदेशमा कस्तो छ अवस्था?

कोरोना परीक्षणः ८१ जनाको रिपोर्ट आउँदै, कुन प्रदेशमा कस्तो छ अवस्था?

सागर न्यौपाने
चैत १८, २०७६ मंगलबार १४:२३,

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन अवधि थपेर चैत २५ सम्म पुर्‍याएको छ। हालसम्म कोरोना पोजिटिभ देखिएका ५ मध्ये १ जना निको भइसकेका छन्। बाँकी ४ जनाको उपचार भइरहेको छ।

सरकारले विभिन्न स्थानमा कोरोना विशेष अस्पताल सञ्चालन गरेर शंकास्पद बिरामीहरुको नमुना संकलन गरिरहेको छ। नेपालखबरले मंगलबार सातै प्रदेशसँग कोरोना परीक्षणबारे जानकारी लिएको छ।

जसअनुसार पछिल्ला केही दिनमा परीक्षणको संख्या विस्तारै बढ्दै गएको छ। काठमाडौँको टेकुमा दुई, बाग्लुङमा एक र धनगढीमा एकबाहेक अन्यमा संक्रमण नदेखिएको प्रदेशहरुले बताएका छन्।

तर सात प्रदेशबाट प्रप्त विवरण अनुसार बुधबारसम्म ८१ जनाको कोरोना परीक्षण रिपोर्ट आाउने छ।

यद्यपि प्रदेशको तयारीको स्तर भने कमजोर देखिएको छ।

pradesh1corona
ओखलढुंगाको मानेभञ्ज्याङ हेल्थ डेस्क अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्य (पूर्णप्रसाद न्यौपाने)

प्रदेश १ : धरानमा परीक्षण थालियो, कोरोना विशेष अस्पताल भर्खर बन्दै
विराटनगरमा कोरोना विशेष अस्पताल निर्माणकै चरणमा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए।

हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण भइरहेको उनले जानकारी दिए।

प्रदेशमा अहिलेसम्म ४६ जना शंकास्पद बिरामीको नमुना परीक्षण गरिएकोमा ३० जनामा संक्रमण नदेखिएको मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकृत क्षितिज भट्टराईले बताए। उनका अनुसार १६ जनाको रिपोर्ट भोलिसम्म आइपुग्नेछ।

प्रदेशमा ७ जनालाई आइसोलेसनमा राखिएको छ। जसमा ४ महिला र ३ पुरुष छन्। २ जना भने मंगलबार दिउँसो डिस्चार्ज भएका छन्।

प्रदेशभर २ सय १९ जना क्वारन्टिनमा छन् भने होम क्वारेन्टिनमा २ सय ८३ जना रहेको भट्टराईले नेपालखबरलाई जानकारी दिए।

प्रदेश २ : ६९ आइसोलेसन बेड तयार
प्रदेशभर १७ जनामा कोरोनाको शंका गरेर परीक्षणका लागि पठाइएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए।

नतिजा आएका १२ जनामै कोरोना नपाइएको उनले जानकारी दिए। ४ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए।

‘अहिलेसम्म प्रदेशमा कोरोना शंकास्पद १७ जना देखिएकोमा १२ जनाको रिपोर्ट निगेटिभ आएको छ,’ झाले नेपालखबरसँग भने, ‘प्रादेशिक अस्पताल जनकपुरबाट बाँकी ४ वटा स्याम्पल काठमाडौं पठाएका छौं, भोलिसम्म रिपोर्ट आइपुग्छ।’

प्रदेशभरका अस्पतालमा ६९ वटा आइसोलेसन बेड तयार गरिएको उनको भनाइ छ।

प्रदेश २ मा ८ वटा जिल्लाको ९९ स्थानमा क्वारन्टिनको व्यवस्था गरिएको छ। प्रदेश सरकार र स्थानीय तहको समन्वयमा भारत लगायतका स्थानबाट आएका व्यक्तिहरुलाई राख्न प्रदेशभर २ हजार ४६ बेड तयार गरिएको झाले बताए।

जसमा ५ सय ४ जनालाई क्वारन्टिनमा राखिएको र होम क्वारन्टिनमा १ सय ५१ जना रहेको पनि बताए।

tekucorona
टेकु अस्पतालका चिकित्सकसँग मंगलबार स्वास्थ्य परीक्षण सल्लाह लिँदै युवक (चन्द्रकला क्षेत्री)

बागमती प्रदेश : २ संक्रमितको उपचार हुँदै
राजधानी काठमाडौं समेत रहेको यो प्रदेशमा हाल दुई जना संक्रमितको उपचार भइरहेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरु उपचाररत छन्।

प्रदेशमा ८३ जना शंकास्पद देखिएका बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जसमध्ये ६५ जनाको रिपोर्टमा कोरोना देखिएको छैन। बाँकी १८ जनाको रिपोर्ट आउने क्रममा रहेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए।

गत २४ घण्टामा मात्रै ९ जना कोरोना शंकास्पदलाई आइसोलेसनमा राखिएको उनले बताए।

आइसोलेसनमा राखिएका १४ जना घर फर्किसकेका छन्।

‘कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,’ मन्त्री दुलालले नेपालखबरसँग भने।

बागमती प्रदेश अन्तर्गतकै चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अहिलेसम्म ३० जनाको परीक्षण गरिएकोमा कसैमा पनि कोरोना नदेखिएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।

७० बेडको उक्त अस्थायी अस्पताल चैत ७ गतेदेखि सञ्चालनमा आएको थियो।

डा. अधिकारीका अनुसार अस्पतालको ओपीडीबाट अहिलेसम्म २ सय ५० भन्दा बढीले उपचार गराइसकेका छन्।

सोमबार २९ जनाको परीक्षण गर्दा ११ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि नमुना पठाइएको छ।

‘यो अस्पतालबाट अहिलेसम्म ३० जनाको रिपोर्ट आइसकेको छ, सबैको निगेटिभ आयो,’ डा. अधिकारीले भने, ‘११ जनाको हिजो टेकु पठाएका छौं।’

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको सो अस्पतालको आइसोलेसन वार्डमा अहिले १४ जनाको उपचार भइरहेको उनले बताए।

कोरोनाको कुनै संक्रमित भेटिए चितवनमै उपचार गर्नेगरी व्यवस्था मिलाइएको छ। अस्पतालमा १० बेडको आईसीयू पनि तयार गरिएको छ।

gandakicorona
पोखराको पश्चिमाञ्चल अस्पतालमा पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिनलगायत अन्य सामान हेलिकोप्टरबाट ओरालिँदै (राधिका कँडेल, रासस)

गण्डकी प्रदेश : एक जना संक्रमित, पोखरामा परीक्षण सुरु
प्रदेशमा एक जना कोरोना संक्रमित भेटिएको छ। बाग्लुङकी एक युवतीमा कोराना पोजिटिभ देखिएपछि उनी अस्पतालकै आइसोलेसनमा छिन्।

अहिलेसम्म ४३ जना शंकास्पदको नमुना परीक्षणका लागि पठाइएको सामाजिक मन्त्रालयको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

२१ जनाको रिपोर्ट आएको, २० जनाको निगेटिभ र एक जनाको पोजिटिभ देखिएको शर्माले बताए। २२ जनाको रिपोर्ट बुधबारसम्म आइपुग्ने उनको भनाइ छ।

गण्डकी प्रदेशमा मंगलबार ४ जनाको नमुना संकलन भएको छ। उनीहरुको परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हुने शर्माले बताए।

‘अब हामीलाई कोरोनाको परीक्षण रिपोर्ट कुर्न पर्दैन, एक घण्टामा रिपोर्ट आउँछ,’ उनले भने।

प्रदेश ५ : ६१ जनाको परीक्षण, चार अस्पतालमा उपचारको प्रबन्ध
बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल चैत ९ गतेदेखि सञ्चालनमा छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य विभाग प्रमुख उमाशंकर चौधरीका अनुसार अहिलेसम्म प्रदेशमा कोरोनाको शंका गरिएका ८३ जनामध्ये ६१ जनाको नमुना परीक्षणका लागि पठाइएको छ।

जसमध्ये ५८ जनाको रिपोर्टमा कोरोना नदेखिएको र ३ जनाको रिपोर्ट आउने क्रममा रहेको चौधरीले बताए।

भैरहवाको भीम अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, दाङको केन्द्रीय आयुर्वेद विद्यापीठ र बाँकेको सुशील कोइराला प्रखर अस्पतालमा आइसोलेसन वार्ड राखिएको छ। चारवटै अस्पतालबाट कोरोनाको शंकास्पद लक्षण देखिएकाहरुको उपचार प्रबन्ध मिलाइएको चौधरीले बताए।

कर्णाली प्रदेश : ३० जनाको परीक्षण, करिब ३ सय क्वारन्टिनमा
कर्णालीमा कोरोना शंका गरिएका ३० जनाको परीक्षण भएको छ। कर्णाली सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा निर्देशनालयकी स्वास्थ्य निर्देशक रिता भण्डारीका अनुसार १७ जनाको रिपोर्टमा कोरोना देखिएको छैन। ११ जनाको नमुना मंगलबार मात्र टेकु पठाइएको छ।

‘कर्णालीमा ३० जनाको स्वाव परीक्षण गरेकोमा १७ जनाको रिपोर्ट कोरोना निगेटिभ आयो,’ निर्देशक भण्डारीले नेपालखबरसँग भनिन्, ‘११ वटा नमुना काठमाडौं पठाएका छौं, डोल्पाको २ वटा नमुना भर्खरै आइपुग्यो।’

शंकास्पद देखिएका एक जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको उनले बताइन्।

‘एकजनाबाहेक कर्णालीमा आइसोलेसनमा राख्नुपर्ने व्यक्ति सम्पर्कमा छैनन्,’ उनले भनिन्।

कर्णालीमा भारतबाट आएका २ सय ९१ जनालाई क्वारन्टिनमा राखिएको छ।

‘प्रदेश सरकारले सुर्खेतमा बनाएको क्वारन्टिनमा १ सय ८६ जना, कालिकोटमा ८६ जना र जुम्लामा १९ जना राखिएको छ,’ भण्डारीले थपिन, ‘अरु पालिकाहरुले पनि क्वारन्टिनमा राखेको सूचना पाएका छौं, त्यसको रेकर्ड लिने काम भइरहेको छ।’

सुदूरपश्चिम प्रदेश : ४४ को परीक्षण, एक संक्रमित
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४४ जनाको कोरोना परीक्षण भएको छ। २७ जनाको निगेटिभ र एकजनाको पोजिटिभ आएको सुदुरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

१६ जनाको रिपोर्ट पर्खिरहेको रहेको उनले बताए। सुदूरमा सेती प्रादेशिक अस्पतालमा ६ जना, महाकाली अस्पतालमा २ जना र डोटी अस्पतालमा एक जना आइसोलेसनमा छन्।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना पोजिटिभ देखिएका युवाको अवस्था सामान्य रहेको महाशाखा प्रमुख कार्कीले बताए।

‘उनी सामान्य अवस्थामा आइसोलेसनमा छन्, अहिलेसम्म कुनै जटिलता देखिएको छैन,’ कार्कीले भने।

ती युवक यूएईबाट नेपाल आएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .