ad ad

समाज


नेपालमा ६ सय भारतीय क्वारेन्टिनमा : दैनिक चार छाक खाना, स्वास्थ्य जाँचको व्यवस्था

नेपालमा ६ सय भारतीय क्वारेन्टिनमा : दैनिक चार छाक खाना, स्वास्थ्य जाँचको व्यवस्था

उजिर कार्की
चैत १९, २०७६ बुधबार १३:१२,

लकडाउनका कारण नेपालमा रोकिएका ६ सय जना भारतीय नागरिकको खाना, बास र स्वास्थ्योपचारको व्यवस्थापन स्थानीय सरकारले गरिरहेका छन्।

ती भारतीय नागरिकलाई झापा, मोरङ, पर्सा र रुपन्देहीमा क्वारेन्टिनमा राखिएको छ। जो जहाँ छ, त्यही देशले व्यवस्थापन गर्ने भारतसँगको सहमति अनुसार लकडाउनका कारण देश फर्किन नपाएका भारतीयलाई नेपालले नै स्याहार गरिरहेको हो।

भारतले पनि नेपाली सीमामा आइपुगेका तर सरकारले प्रवेश अनुमति नदिएका २ हजार नेपाली नागरिकको खानेबस्ने व्यवस्था गरिरहेको छ।

भारतीय नागरिकहरुलाई दैनिक चार पटक खाना, दुई पटक स्वास्थ्य जाँच र सुरक्षाको व्यवस्था गरिएको छ।

झापामा ७२ जना भारतीय नागरिक क्वारेन्टिनमा छन्। बाहुनडाँगीमा ३९ जना, पृथ्वीनगरमा १८ जना र सुरुङ्गामा १५ जनालाई राखिएको प्रदेश नम्बर १ को प्रहरी कार्यालयले जनाएको छ। मोरङको टाँडीमा पनि ४ जना भारतीय नागरिक सरकारी क्वारन्टिनमा छन्।

पर्साको वीरगन्ज नाकामा रोकिएका ३ सय ६९ जना भारतीय नागरिकलाई ठाकुरराम कलेजमा राखिएको छ। त्यस्तै, रुपन्देहीको निमा प्रतिमा प्रतिष्ठान कलेजमा पनि १ सय ५५ जना भारतीय नागरिक छन्।

रुपन्देहीका सीमानामा रोकिएका भारतीयलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरिरहेको छ। मंगलबार साँझ जिल्ला प्रशासनले सम्बन्धित स्थानीय तहले नै व्यवस्थापन गर्ने भनेपछि नगरपालिकाले कलेजमा लगेर राखेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए। यहाँ राखिएका एक जनालाई भने आफन्तको मृत्यु भएकाले बुधबार घर जान दिइएको छ।

कलेजमा राखिएका भारतीयको निगरानीमा नेपाली सेना खटिएको छ। दैनिक दुई पटक स्वास्थ्य जाँचका व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै उनीहरुलाई खाना खुवाउनका लागि समयतालिका नै तयार गरिएको अधिकृत मरासिनीले बताए।

‘बिहान ७–८ बजे चिया बिस्कुट, ११–१२ बजे खाना, दिउँसो २–३ बजे चिया, भुजिया, चिउरा र साँझ ७–८ बजे खाना दिन्छौं,’ उनले भने, ‘नगरपालिकाकै स्वास्थ्यकर्मी टोलीले दुई पटक स्वास्थ्य जाँच गर्छ। सुरक्षा निगरानी नेपाली सेनाको जिम्मामा छ।’

बिनातयारी ठूलो संख्यालाई बस्ने खानेदेखि स्वास्थ्य जाँचको व्यवस्था गर्न गाह्रो भएको नगरपालिकाले जनाएको छ। उद्योग वाणिज्य संघ र केही संस्थाले समान्य सहयोग गरे पनि अन्य निकायको सहयोग नरहेको नगरपालिकाको भनाइ छ।

क्वारन्टिनमा राखिएका भारतीयमा कुनै रोग देखा परे भीम अस्पतालमा रेफर गर्ने र त्यहाँ पनि नभए बुटवल पठाउने स्थानीय प्रशासनको तयारी छ। भारतीयलाई राखिएको नजिकै अर्को क्वारन्टिन छ। जहाँ विदेशबाट फर्किएका २५ जना नेपालीलाई राखिएको छ।

तालिम केन्द्रको होस्टलमा उनीहरुलाई राखिएको छ। रुपन्देहीको जमुना नाकापारि २ सय ९८ जना नेपाली छन्। उनीहरुलाई भने भारतीय सरकारले व्यवस्थापन गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेम थापाले बताए।

लकडाउनको विशेषता अनुसार जो जहाँ छ, त्यहीँको सरकारको जिम्मेवारी हुने भएकाले भारतीयलाई व्यवस्थापन गरिएको एसपी थापाले नेपालखबरलाई बताए।

नेपालको प्रमुख सीमा नाका वीरगन्जमा सबैभन्दा धेरै भारतीय रोकिएका छन्। वीरगन्ज महानगरपालिकाले उनीहरुलाई ठाकुरराम कलेजमा राखेर हेरचाह गरिरहेको छ। कलेजका कोठामा बस्ने व्यवस्था गरिएको वीरगन्जका मेयर विजयकुमार सरावगीले बताए।

वीरगन्जमा १३ बालबालिका र ५ जना महिलासहित ३ सय ६९ जना छन्। उनीहरुलाई महानगरपालिकाले नै दालभात खाने व्यवस्था गरेको मेयर सरावगीले बताए।

‘नाका बन्द छ त उनीहरुले के गरुन्, यो हाम्रो मानवीय काम पनि हो, स्पेसल खानाको व्यवस्था गर्न सक्दैनौं, दालभात तरकारी र खिचडी खुवाइरहेका छौं,’ उनले भने।

यति ठूलो संख्यालाई व्यवस्थापन गर्न केन्द्र सरकार र प्रदेश सरकारले सहयोग नगरेको वीरगन्जका मेयरको गुनासो छ।

‘प्रदेश सरकारले सबै जिल्लामा २५ लाख रुपैयाँका दरले सहयोग घोषणा गरेको छ, हामीलाई त्यो पैसा हात्तीको मुखमा जिरा भने जस्तै हुन्छ,’ मेयर सरावगीले भने’, वीरगन्जवासीका लागि मात्रै हो भने हामीलाई एक रुपैयाँ पनि चाहिँदैनथ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .