प्रदेश २ मा झण्डै दुई हजार व्यक्ति क्वारेन्टिनमा छन्। ८ सय ६५ जना क्वारेन्टिन र १ हजार ८० जना होम क्वारेन्टिनमा गरी १९ सय ४५ जना क्वारेन्टिनमा रहेका समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
प्रदेश २ मा हालसम्म २ हजार ९ सय १८ बेड क्षमताको १ सय ४२ वटा क्वारेन्टिन स्थापना गरिएको छ।
सचिव घिमिरेका अनुसार प्रदेशमा हालसम्म ८७ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएकोमा २७ जना भर्ना भएका छन्।
लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकार थप कठोर भएर प्रस्तुत हुने उनको भनाइ छ। हालसम्म लकडाउन उल्लंघन गर्ने २ हजार १ सय ३५ सवारी साधान नियन्त्रणमा लिइएको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ सय ६५ सवारी साधन नियन्त्रणमा लिइएको हो।
यस्तै लकडाउनको मौकाछोपी कालोबजारी गर्ने २५ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। कालोबजारी गर्ने व्यक्ति भेटिए सरकारले दिएको नम्बरमा फोन गरेर तुरन्त जानकारी गराउन समेत अपिल गरेका छन्।
हालसम्म प्रदेश २ मा कोरोना संक्रमित व्यक्ति नभेटिएपनि जाँचलाई तिब्रता दिइएको उनको भनाइ छ। ‘ढुक्कले बस्ने अवस्था पनि छैन। सचेतना र सतर्कता अपनाउन जरुरी छ,’ उनले भने।
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमण शंकास्पद ३४ जना व्यक्तिको स्वाब टेस्ट भएकोमा ६ जनाको रिपोर्ट आएको र बाँकीको रिपोर्ट आउने क्रममा रहेको सचिव घिमिरेले जानकारी दिए।
प्रतिक्रिया