जुम्ला, डोटी र अछाममा कोरोना परीक्षणका लागि सेनासहितको टोली पठाइने भएको छ। आइतबार सैनिक ब्यारेक छाउनीमा बसेको कोरोना संकट व्यवस्थापन टोलीको बैठकले मंगलबार यी जिल्लामा टोली पठाउने निर्णय गरेको हो।
यी तीन जिल्लामा भारत लगायत देशबाट फर्किएका करिब ५ सय जना क्वारन्टिनमा छन्। चैत ११ गतेपछि भित्रिएका कतिपयलाई सीमाबाटै क्वारन्टिनमा लगिएको भए पनि उनीहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन।
कोरोना परीक्षणका लागि टोली पठाउने निर्णय भएको एक सदस्यले जानकारी दिए।
हेलिकोप्टरमा जाने टोलीमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि हुनेछन्। तिनले संक्रमणको आशंका गरिएका व्यक्ति बसेको ठाउँमै पुगेर नमुना संकलन गर्नेछन्। ती नमुना काठमाडौँ ल्याएर परीक्षण गरिनेछ।
पछिल्लो समय भारतबाट आएका व्यक्ति र उनको आफन्तमा पनि कोराना संक्रमण देखिएको छ। त्यसअघि विदेशबाट फर्केकाहरुमा पनि कोरोना संक्रमण देखिएको थियो। कोरोना संकट व्यवस्थापन टोलीले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने भएको छ।
‘जुम्ला, डोटी र अछाम जिल्ला सबैभन्दा बढी जोखिममा देखिएका छन्। उनीहरुकै परीक्षण गरिएको छैन,’ टोलीका ती सदस्यले भने, ‘त्यही भएर हेलिकोप्टरमा घुुम्ती टोली पठाएर स्वाब संकलन गर्ने निर्णय भएको हो।’
डोटीका १६ स्थानमा ३ सय ५ जनालाई क्वारन्टिनमा राखिएको छ। उनीहरुलाई ११ गते धनगढीबाट प्रहरीले स्कर्टिङ गरेर ल्याएको डोटीका प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए।
केन्द्रबाट टोली आउने भएपछि आइतबार जिल्ला प्रशासनमा बसेको बैठकले उनीहरुलाई ५ ठाउँमा जम्मा गरेर स्वाब संकलन गर्ने निर्णय गरेको छ। यसअघि डोटीका ३ जनाको नमुना काठमाडौं पठाएर परीक्षण गरिएकोमा तीनै जनामा कोरोना भेटिएको थिएन।
जुम्लामा ४७ जनालाई क्वारन्टिनमा राखिएको छ। यसबाहेक ठूलो संख्यामा होम क्वारेन्टिनमा रहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए।
होम क्वारन्टिनमा भएकाहरुको समेत स्वाब संकलन गर्ने व्यवस्था मिलाइले तयारी भएको देवकोटाले बताए।
जुम्लामा भारतलगायत देशबाट आएका ७३ जना १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किसकेका छन्। उनीहरुको परीक्षण भने हुन सकेन।
उता अछाममा पनि १० वटा स्थानीय तहमा ५८ जना क्वारन्टिनमा छन्। १२ जना भने क्वारन्टिनमा बसेर घर फर्किसकेका अछामका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए।
प्रजिअ पौडेलका अनुसार भारत लगायत देशबाट फर्किनेको संख्या यो भन्दा धेरै छ। उनीहरुलाई पनि परीक्षणका लागि आउन आग्रह गरिएको छ। मंगलबार केन्द्रबाट स्वाब संकलनका लागि टोली आउने जानकारी पाइसकेको पौडेलले नेपाल खबरलाई बताए।
यस्तै सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ¥यापिड टेस्ट गर्ने भएको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया