ad ad

समाज


अव्यवस्थित क्वारन्टिनका कारण कोरोना दोस्रो चरणमाः विज्ञ

अव्यवस्थित क्वारन्टिनका कारण कोरोना दोस्रो चरणमाः विज्ञ

सागर न्यौपाने
चैत २३, २०७६ आइतबार १६:३०,

नेपालमा क्वारन्टिनको बसाइ व्यवस्थित नभएकाले कोरोना भाइरसको स्थानीय संक्रमण हुन पुगेको विज्ञहरुले बताएका छन्।

शनिबार पहिलोपटक कोरोना भाइरस स्थानीय रुपमा संक्रमण भएको देखिएको छ।

क्वारन्टिनमा नबस्ने र बसेका पनि अव्यवस्थित भएकैले नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

‘भीड गरेर क्वारन्टिनमा बस्ने नै होइन, त्यहाँ बस्दा बाथरुम र ट्वाइलेट समेत छुट्टै प्रयोग गर्नुपर्छ,’ डा. पाण्डेले भने, ‘तर, नेपालमा धेरैजसो क्वारन्टिनमा त्यस्तो व्यवस्था छैन।’

उनले नेपालमा ठूलो संख्या क्वारन्टिनमा बस्दै नबसेको र बस्नेहरुले पनि नियमको पालना नगरेको बताए।

‘हामीले ठूलो संख्यालाई क्वारन्टिनमा राख्नै सकेका छैनौँ। बसेको पनि मिलेको देखिएन,’ डा. पाण्डेले भने, ‘घरमा बस्दाखेरी परिवारका अन्य सदस्यबाट कम्तीमा १४ दिनसम्म टाढै रहने हो भने यसले अन्य व्यक्तिमा संक्रमण फैलाउन सक्तैन।’

भाइरसको स्थानीय विस्तार देखिएपछि नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका छन्। जसका कारण यतिबेला सरकारी अधिकारीहरु चर्को दबाबमा छन्। भाइरसलाई फैलिन नदिन सरकारले लक डाउनमा कडाइ गरेको छ। एक स्थानीय तहदेखि अर्काे स्थानीय तह प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ।

माघ ९ गते, चैत १०, १२, १४, १५ र २० गतेसम्म युरोपबाट ४ र युएईबाट फर्केका २ नेपालीमा मात्रै कोभिड १९ को संक्रमण देखिएको थियो।

चैत २२ गते कैलालीकी स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो। उनलाई चैत ६ गते यूएईबाट फर्केका एक युवाबाट कोभिड १९ सरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।
यूएईबाट नेपाल फर्केका कैलालीका ती युवा ८ दिन घरमै बसेका थिए। ८ दिनपछि चैत १४ परीक्षण गराउँदा उनमा कोभिड १९ देखिएको थियो। त्यसको ८ दिनपछि चैत २२ गते उनकै आफन्तलाई पनि सरेको देखियो।

विदेशबाट आउने सबै नेपालीलाई सरकारले आफ्नै घरमा क्वारन्टिनमा बस्न पटक पटक आग्रह गरेको थियो। सास फेर्न गाह्रो हुने, निरन्तर सुख्खा खोकी लाग्ने र निरन्तर ज्वरो आउनेबाहेकलाई घरमै दूरी कायम गरेर बस्न आग्रह गरिएको थियो।

तर, घरमा क्वारन्टिन बस्न पर्याप्त सावधानी नअपनाएकाले स्थानीय संक्रमण हुन पुगेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

‘आफूले अरुलाई सुरक्षित राख्ने उपयुक्त विधि भनेकै क्वारन्टिन बसाइ हो,’ उनले भने,‘ हाम्रोमा त्यो मिलेको छैन, विदेशबाट आएका व्यक्तिहरु छुट्टै बस्ने र छुट्टै सामान प्रयोग गर्ने गर्नुपथ्र्याे त्यसो भएन र समुदायमा सर्न पुग्यो।’

चीनले व्यवस्थित लकडाउन र दक्षिण कोरियाले व्यापक परीक्षणको सहयोगमा भाइरस नियन्त्रणमा लिएका छन्। तर, नेपालमा खासगरी भारतबाट आउनेजानेहरुका सन्दर्भमा लकडाउन पालना भएको देखिँदैन। अझै पनि लुकीछिपी नाकाबाट ओहोरदोहोर गर्ने क्रम चलिरहेको छ। त्यसरी आएकाहरुलाई व्यवस्थित लकडाउनमा राख्न सरकारले सकेको छैन।

स्थानीयमा स¥यो भन्दैमा धेरै डराउन नपर्ने तर बढी सावधानी अपनाउनुपर्ने डा. पाण्डेको सुझाव छ।

‘सेल्फ क्वारन्टिनमा बस्ने भनेको दूरी कायम गर्ने हो, परिवारसँग सकभर दूरी राखेर बस्ने हो,’ डा. पाण्डेले भने, ‘विदेशबाट आइकाहरुले क्वारन्टिनमा बसेपनि परिवारसँग भने दूरी कायम गरेको देखिएन।’

पछिल्ला दिन सीमामा अलपत्र परेका नेपालीहरुको बसाइले समेत जोखिम निम्त्याउन सक्ने उनीहरुको चिन्ता छ। महाकालीपारि धार्चुलामा सयौं नेपाली अहिले नेपाल आउने प्रतिक्षामा छन्।

‘कोभिड १९ बाट जोगिने एउटै उपाय भनेको मानिसहरुलाई छुँदै नछुने, आफ्ना सामान पनि अरुलाई प्रयोग गर्न नदिने हो,’ डा. पुन भन्छन्, ‘तर हामीले क्वारन्टिनमा बसेका साथीहरुलाई हेर्दा उहाँहरु भूकम्पको बेलामा जस्तै एकैठाउँमा बसेको जस्तो देखियो, जुन कोरोनाको लागि सबैभन्दा खतरनाक हो।’

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .