ad ad

समाज


लकडाउनमा थन्किएका सरकारी गाडीलाई ‘एम्बुलेन्स’ बनाउन डा. केसीको आग्रह

लकडाउनमा थन्किएका सरकारी गाडीलाई ‘एम्बुलेन्स’ बनाउन डा. केसीको आग्रह

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १०:७,

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले लकडाउनका कारण थन्किएका सरकारी गाडीहरुलाई दूरदराजका बिरामीलाई अस्पताल ल्याउन प्रयोग गर्न आग्रह गरेका छन्।

हाल डडेल्धुरा रहेका डा. केसीले लकडाउनको अबधिमा बिभिन्न खाले रोग लागेका वा भिरबाट लडेर घाइतेहरुको संख्या कम नभएको बरु बढेको भन्दै सार्वजनिक यातायात नचल्दा उनीहरु अस्पतालसम्म आउन सक्ने अवस्था नरहेको बताएका छन्। कतिपयले महंगो शुल्क तिरेर एम्बुलेन्स प्रयोग गरिरहेपनि धेरै जना आर्थिक अवस्थाका कारण रोग पालेर बस्न बाध्य भएको भन्दै सरकारी गाडीलाई बिरामी बोक्ने काममा लगाउन आग्रह गरेका हुन्।

डा. केसीले विज्ञप्तिमा भनेका छन्ः
‘सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको होला। हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु। यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो।

यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पु-याउन पर्याप्त छैनन्। फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन्। त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेका छन्। शुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन्। त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ।

अर्कोतिर सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन्। त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु। स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .