ad ad

समाज


पत्रकार महासंघ र प्रेस काउन्सिलद्वारा कोरोना संक्रमित जिल्लाको अनुगमनः यस्तो छ प्रारम्भिक प्रतिवेदन

पत्रकार महासंघ र प्रेस काउन्सिलद्वारा कोरोना संक्रमित जिल्लाको अनुगमनः यस्तो छ प्रारम्भिक प्रतिवेदन

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ११:२०,

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले नेपालमा सबैभन्दा बढी कोराना संक्रमित देखिएको प्रदेश नं.१ को उदयपुरसहित प्रदेश नं २ का पर्सा र बारा जिल्लाका पत्रकारहरुको अवस्थाको बारेमा संयुक्त अनुगमन गरेका छन्।

महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाको बारेमा अन्तरक्रिया गरेको हाे।

अनुगमनका क्रममा ती जिल्लाका पत्रकारहरुले स्रोत साधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको पाइएकाे महासंघले जनाएको छ।

‘नेपालकै सबैभन्दा बढी संक्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारहरुले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा रिपोर्टिङ गरिरहेका छन्। पत्रकारहरुको स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरेको पाइएन। पारिवारिक दबाव र संक्रमणको खतरा मोल्दै जनतालाई सुसूचित गराउने दायित्वलाई उदयपुरका सञ्चारकर्मीहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ’ महासंघले भनेको छ।

पत्रकार महासंघका अनुसार महासंघ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोत साधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्याहरु व्यक्त गरेका थिए। जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका छन्।

प्रदेश नं.२ को पर्सा र बाराका पत्रकारहरुसँगसमेत अनुगमन टोलीले छलफल गरेको जनाएको छ। महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बाराका अध्यक्ष कमल उपाध्यायलगायतका सञ्चारकर्मीसँग टोलीले अन्तरक्रिया र छलफल गरेको छ। टोलीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीसँग भेटेर पत्रकारिताको समस्या र कोरोना नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल गरेको छ।

साथै, अनुगमन टोलीले प्रदेश नं.३ को राजधानी मकवानपुरका पत्रकारहरुसँग समेत छलफल गरेको छ। महासंघ मकवानपुरका जिल्ला अध्यक्ष हरि हुमागाईसहितका पत्रकारहरुले जिल्लाको पत्रकारिताको अवस्था र कोरोना नियन्त्रणको प्रयासको बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए।

संक्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारहरुका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने महासंघले ठहर गरेको छ। स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्रीलगायतको पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ।

संक्रमित पुष्टि भएका जिल्लाका पत्रकारहरुका लागि तत्काल सुरक्षितढंगबाट काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायसमक्ष टोलीले आग्रह गरेको छ। सञ्चारगृहहरुले पत्रकारहरुलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य विमाको व्यवस्था, स्थानिय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .