ad ad

समाज


विज्ञ भन्छन्ः नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको छैन

विज्ञ भन्छन्ः नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको छैन

यज्ञराज जोशी
बैशाख २५, २०७७ बिहिबार १०:१०,

नेपालगञ्जमा गत आइतबार १५ र मंगलबार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। एकै पटक यति धेरै मानिसमा संक्रमण देखिएपछि भाइरस समुदायस्तरमा फैलिएको हो कि भन्ने त्रास उत्पन्न भयो।

तर, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालगञ्जमा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको बताए।

नेपालमा कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी पाएको महाशाखाका प्रमुख भाइरोलोजिस्ट डा. पाण्डेले कन्ट्याक्ट ट्रेसिङका क्रममा अघिल्लो संक्रमितबाट नै अन्यलाई सरेको पाइएकाले यसलाई ‘कम्युनिटी ट्रान्समिसन’ भन्न नसकिने बताए।

‘समुदायमा सरेको भए कोबाट सर्‍यो भन्ने पहिचान हुँदैन। संक्रमण कोबाट कसरी सर्‍यो भनेर स्रोतको टुंगो नभए समुदायमा फैलियो भन्ने हो,’ डा. पाण्डेले भने, ‘अहिले देखिएका संक्रमित पहिले भेटिएका संक्रमितसँग सम्पर्क आएका मानिस नै हुन्। हामीले कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा संक्रमण फेला परेको हो।’

अहिलको अवस्थालाई स्परेडिक (फाट्टफुट देखिनु) अथवा क्लस्टर (समूहमा देखिएको) भन्न मिल्ने उनले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा नेपाललाई स्परेडिक अवस्थामा राखेको छ। उक्त रिपोर्ट नेपालगञ्जमा २३ जनामा संक्रमण देखिइसकेपछि प्रकाशित भएको हो।

बुधबार प्रकाशित डब्लुएचओको रिपोर्टमा पनि नेपालमा समुदायस्तरमा कोरोना फैलिएको उल्लेख छैन

पाण्डेले नेपालगञ्जमा डब्लूएचओसहितको टोली अध्ययनमै रहेकाले केही दिनमा विस्तृतमा जानकारी आउने बताए।

गत शुक्रबार बाँकेमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्याक्ट टे«सिङका आधारमा ९४ जनाको परीक्षण गर्दा वडा नम्बर ८ का अन्य २२ जनालाई पनि संक्रमण पुष्टि भएको थियो।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले पनि नेपालगञ्जमा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको बताए।

‘उनीहरु एउटै टोलका आफन्ती हुन्। उनीहरुबाट बाहिर फैलिएको नदेखिएकाले समुदायमा संक्रमण फैलिएको भन्न सकिन्न,’ उनले भने।

नेपालगञ्जमा डब्लूएचओको टोलीसँगै रहेर काम गरेका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले सो टोलीको अध्ययन जारी रहेकाले समुदायमा विस्तार भए–नभएको केही दिनमा थाहा हुने बताए।

संक्रमितहरुको सम्पर्कमा आएका २ सय ८४ जनाको स्वाब संकलन गरी परीक्षण भइसकेको उनले जानकारी दिए।

‘संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन र परीक्षण सम्पन्न भइसकेको छ,’ श्रेष्ठले भने, ‘२३ बाहेक थप अरुमा संक्रमण देखिएको छैन। अहिले बाँकी शंकास्पद स्थानहरुको नमुना संकलन कार्य भइरहेको छ।’

नेपालमा बाँकेसँगै ठूलो संख्यामा उदयपुरमा २८ जना र पर्सामा २४ जना कोरोना संक्रमित भेटिएका छन्। उदयपुर र पर्सामा मस्जिदमा रहेका व्यक्तिको सम्पर्कमा आएकाहरुमा कोरोना संक्रमण देखिएकाले ती स्थानमा समेत समुदायमा संक्रमण नफैलिएको स्थान मन्त्रालयले जनाएको छ।

बुधबारमात्रै पर्सामा थप १७ जनालाई कोरोना संक्रमण भेटिएपछि नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ। जसमध्ये १९ जना निको भएका छन्।

पर्साका दुई तथा काठमाडौंका निको भएर घर फर्काइएका ३ जनालाई पुनः कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई आइसोलेसनमा भर्ना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .