ad ad

समाज


आफन्त र अस्पतालबीच विवादले कोरोनाको तेस्रो मृतकको अन्त्येष्टि भएन

आफन्त र अस्पतालबीच विवादले कोरोनाको तेस्रो मृतकको अन्त्येष्टि भएन

सागर न्यौपाने
जेठ ८, २०७७ बिहिबार ११:१,

कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीका शिक्षकको उपचारमा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले लापरबाही गरेको उनका आफन्तले आरोप लगाएका छन्।

केही दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई अस्पतालले बिहीबार मृत घोषित गरेको थियो। अहिले उनको अन्त्येष्टिका विषयमा आफन्त र अस्पतालबीच विवाद चर्केको छ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उपचार नै नगरेको उनका आफन्त खिमबहादुर कुँवरले दाबी गरे। अस्पतालले मृत्युको कारण स्पष्ट पारेपछि मात्रै अन्त्येष्टि गरिने कुँवरले बताए।

‘हामीले बिरामीको मृत्युको कारण जान्न चाहेका छौं। खासमा उहाँलाई कोरोनाको कारणले भन्दा पनि ढाडबाट पानी निकाल्दा अस्पतालले गलत गरेको हुनसक्ने आशंका छ,’ कुँवरले अगाडि थपे, ‘त्यसैमा लापरवाही हुँदा शरीरका अरु अंगले काम गर्न छाडेको आशंका छ। हामी अस्पतालबाट स्पष्ट जानकारी चाहन्छौँ।’

अस्पतालमाथि दुई आरोप
मृतक व्यक्ति गुल्मीका बासिन्दा हुन्। उनलाई वैशाख अन्तिम साता ज्वरो आएको थियो। ज्वरो निको भएपछि वैशाख ३० गते अचानक वान्ता हुन थालेपछि उनी गाउँकै एक मेडिकलमा देखाउन गएका थिए।

मेडिकलले उनलाई अर्घाखाँचीको सन्धिखर्क जान सुझाए। उनी मोटरसाइकलको पछाडि बसेर वैशाख ३१ गते सन्धिखर्कको छाया पोलिक्लिनिक पुगे। त्यहाँ मिर्गौलाको समस्या हुनसक्छ भनेर उनलाई रुपन्देहीको क्रिमसन अस्पताल रिफर गरियो।

पोलिक्लिनिकले उपलब्ध गराएको एम्बुलेन्समा उनी ३१ गते नै क्रिमसन अस्पताल पुगेका थिए।

जेठ १ गतेसम्म उनको स्वास्थ्य अवस्था सामान्य नै थियो। १ गते बिहान उनले चिया र बिस्कुट खाएका थिए। अस्पतालमा पुग्नेबित्तिकै चिकित्सकले कोरोना संक्रमणको आशंका नगरेको र उनको परीक्षण पनि नभएको आफन्तको दाबी छ।

सोही साँझ उनको फोक्सोबाट पानी निकाल्नुपर्ने अस्पतालले बतायो र त्यसैअनुसार उपचार गरियो। तर, जेठ २ गते उनको अवस्था कमजोर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखियो र कोरोना परीक्षणका लागि नमुना पनि संकलन गरियो।

जेठ ४ मा उनको कोरोना पोजिटिभ देखियो।

जेठ ७ गते अचानक उनको मृत्युको हल्ला चल्यो। अस्पताल प्रशासनदेखि प्रदेशका मन्त्रीसम्मलाई उधृत गर्दै अनेकौँ सञ्चारमाध्यममा उनको मृत्युको खबर छापिए। तर, केही समयपछि अस्पतालले उनको मृत्यु नभएको भन्दै विज्ञप्ति जारी गर्‍यो।

बिहीबार भने अस्पतालले उनको मृत्यु भएको बतायो।

अहिले आफन्तहरुले अस्पतालमाथि खासगरी दुई वटा आरोप लगाएका छन्।

पहिलो, बिरामीलाई कोरोना पोजिटिभ देखिनेबित्तिकै अस्पतालका स्वास्थ्यकर्मीले उनको उपचार गर्दै नगरेको कुँवरको भनाइ छ। 

‘रिपोर्ट नआउञ्जेल उपचार ठिकै थियो। उहाँलाई भेन्टिलेटरमा रेखदेख गर्न डाक्टरहरु गएका थिए तर, ४ गते दिउँसो कोरोना पोजिटिभ देखिएपछि कोही पनि गएनन् जस्तो देखिन्छ,’ कुँवरले नेपालखबरसँग भने, ‘सीसीटीभी फुटेजमा हेर्दा पनि त्यो कुरा देखिन्छ होला– डाक्टरले हेर्दै हेरेनन्।’

त्यहीकारण अनुमानकै भरमा उनको मृत्युको हल्ला गरिएको कुँवरको भनाइ छ।

‘भेन्टिलेटरमा राखिएका बिरामीको मृत्यु भएको गलत समाचार सार्वजनिक भएपछि मात्रै एकैपटक बिरामी हामीलाई देखाइयो। त्यसबेला उहाँको अवस्था गम्भीर थियो,’ उनले भने।

आफन्तको दोस्रो आरोप हो, कोरोना पुष्टि भएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गर्दा अस्पतालले दिएन।

‘हामीले कोरोना पोजिटिभको रिपोर्ट आएपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौं लैजान्छौं भनेको हो,’ कुँवरले भने, ‘भेन्टिलेटरमा राखिएको बिरामी निकाल्न नमिल्ने भनेर अस्पतालले भन्यो, अनि रोकियौं।’

अन्त्येष्टिमा सकस
उनका तीन जना आफन्त अहिले बुटवलमा छन्। गुल्मीमा रहेका उनका तीन छोरा र श्रीमती भने बुटवल आएका छैनन्। बिरामी हुँदादेखि उनकै साथमा रहेका सालो विष्णुबहादुर ओली र कुँवरसहित अर्का एक आफन्त अस्पताल परिसरमै छन्।

मृतकको अन्त्येष्टिमा अहिले कठिनाइ उत्पन्न भएको छ। यो विषयलाई लिएर मृतकका आफन्त, अस्पताल प्रशासन, प्रमुख जिल्ला अधिकारी, मणिग्राम नगरपालिकाका मेयर, प्रदेश ५ का मन्त्रीहरुको बैठक बिहीबार अपरान्ह यो रिपोर्ट तयार गर्दासम्म बसिरहेको छ।

बिहान ९ बजेदेखि यस विषयमा सहमति जुट्न सकेको छैन।

‘शव व्यवस्थापन कसरी गर्ने भनेर अहिले छलफल भइरहेको छ,’ प्रदेश ५ का सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले भने।

मृतकका साला ओली भने यसै शव जिम्मा नलिने बताउँछन्। ‘हामीसँग परामर्श लिइएको छैन। त्यत्तिकै शव बुझ्ने कुरा भएन,’ ओली भन्छन्।

मृतकका आफन्तले लगाएका आरोपबारे कृमसन अस्पतालको धारणा बुझ्न हामीले पटक पटक फोन सम्पर्क गर्ने प्रयास गर्यौं। अस्तपाल व्यवस्थापन पक्षसँग सम्बन्धित फोन रातीसम्म पनि उठेन। साँझ ८ बजेसम्म पनि शव व्यवस्थापन भएको छैन। अस्पताल प्रशासनले सम्पर्क नै नगरेको मृतकका आफन्तले जनाएका छन्।

कोरोना कहाँबाट सर्‍यो, अझै पत्ता लागेन
मृतक व्यक्तिलाई कोरोना भाइरस कहाँबाट सर्‍यो भन्ने अझै पुष्टि भइसकेको छैन। आफन्तले उनी गुल्मीस्थित घरबाट कतै नगएको बताएका छन्।

उनलाई कोरोना पोजिटिभ देखिएपछि उनको सम्पर्कमा आएका सबै ३० जनाको नमुना संकलन गरिएको छ। जसको रिपोर्ट आइसकेको छैन।

उता उनको उपचार गरिएको अर्घाखाँचीको छाया पोलिक्लिनिकमा काम गर्ने १० जनाको पनि परीक्षण गरिएको छ। तर, उनीहरु कसैमा पनि संक्रमण नदेखिएको गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए।

‘अर्घाखाँचीका १० जनाको रिपोर्ट निगेटिभ आयो, हाम्रो गाउँपालिकाको पनि ३० जनाको रिपोर्ट आज साँझसम्म आउँछ होला,’ केसीले नेपालखबरसँग भने। 

(मृतकका आफन्तले लगाएका आरोपबारे बुझ्न हामीले पटक पटक प्रयास गर्दा पनि कृमसन अस्पताल प्रशासन सम्पर्कमा आएन। कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको संवेदनशीलता ख्याल गरी यो रिपोर्टमा केही परिमार्जन गरिएको छ)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .