ad ad

समाज


१२ सुरक्षाकर्मीमा कोरोनाः उच्च मनोबलका साथ अग्रभागमा

१२ सुरक्षाकर्मीमा कोरोनाः उच्च मनोबलका साथ अग्रभागमा

नारायण ढु‌ंगाना
जेठ ८, २०७७ बिहिबार १४:१२,

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपंक्तिमा खटिएका छन्। संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमण देखिएको छ।

प्राप्त विवरणअनुसार मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमण देखिँदा त्यसबाट १२ जना सुरक्षाकर्मी समेत प्रभावित हुन पुगेका छन्। उनीहरुको आइसोलेशनमा राखेर उपचार जारी छ। नेपाल प्रहरीका छ, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखिएको हो। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

आम सुमदायसँग नियमित रुपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ। त्यसतर्फ सचेत हुनुपर्ने आवश्कता सम्बद्ध सुरक्षा अधिकारीहरुले औँल्याएका छन्। स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ। तर स्वास्थ्यकर्मीले झै व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन्।

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरुले सामजिक दूरी कायम गर्न सक्दैनन्। कपडा कै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ। हाल उपलब्ध स्रोतसाधनका बीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाही संक्रमण फैलिन नदिन सतर्कता अपनाएर उच्च मनोबलका साथ प्रहरीले काम गरिरहेको बताउँछन्। संक्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन्। घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ।

प्रवक्ता शाहीका अनुसार काठमाडौंको कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार संक्रमण देखिएपछि वृत्तलाई नै सील गरेर स्वास्थ्य परीक्षण थालिएको छ। धनकुटा, बारामा एक/एक र कपिलवस्तुमा दुई प्रहरीमा संक्रमण देखिएको छ। उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपंक्तिमा खटिने प्रहरीमा संक्रमण हुनसक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वभाविक भएकाले प्रहरी अझै सतर्कताका साथ हतोत्साही नभई कार्यस्थलमा खटिएको बताउँछन्।

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीका चार कर्मचारीमा समेत कोभिड–१९ को संक्रमण भएको छ। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ उच्च जोखिम मोलेर मुलुकको शान्ति सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा केही संक्रमण देखिए पनि मनोबल नघट्ने बताउँछन्। आवश्यक सुरक्षा मापदण्ड अनुसार नै सशस्त्र प्रहरी परिचालन गरिएको उाले बताए। नेपाली सेनामा दुई अधिकृतलाई समेत कोभिड–१९ देखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनका अनुसार विदेशमा थप एक जनालाई संक्रमण भएको छ।

मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न होस् या अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने प्रहरीलाई हो। सामान्य भिडभाड, झै–झगडा, दुर्घटना चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपंक्तिमा हुन्छ। अर्को घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना बसेको हुन्छ। अनुसन्धान विभागले आवश्यक सूचना संकलन गरेर सरकारलाई मुलुकमा आइपर्ने चुनौतीबारे सूचना दिइरहेको हुन्छ।

हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड–१९ को संक्रमण रोकथाममा पनि अहम भूमिका हुन्छ। सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ। नेपाली सेना स्वाथ्योपचार लगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ। सीमा क्षेत्रमा हुने आवागमन रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन्। उनीहरुलाई सरकारले आवश्यक बीमाको समेत व्यवस्था गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .