ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउने तेस्रो व्यक्तिको शव सुरक्षाकर्मीले नियन्त्रणमा लिए

कोरोनाबाट ज्यान गुमाउने तेस्रो व्यक्तिको शव सुरक्षाकर्मीले नियन्त्रणमा लिए

सागर न्यौपाने
जेठ ९, २०७७ शुक्रबार १०:३५,

कोरोनाको संक्रमणका कारण बुटवलको क्रिमसन अस्पतालमा ज्यान गुमाएका गुल्मीका शिक्षकको शव अन्त्येष्टिका लागि भन्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। 

अस्पतालले उनको उपचारमा चरम लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन्।

भेन्टिलेटरमा राखिएका ४१ वर्षीय ती शिक्षकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको थियो। तर, आफन्तले भने उनलाई भेन्टिलेटरमा राखेपछि डाक्टरले हेर्दै नहेरेको आरोप लगाएका छन्।

‘झण्डै पौने घण्टाअघि सेना, सशस्त्र र प्रहरीको टोलीले एम्बुलेन्स ल्याएर जबर्जस्ती शव उठाएर लगे,’ मृतकका आफन्त विष्णुबहादुर ओलीले नेपालखबरसँग भने, ‘हामीसँग कुनै सल्लाह गरेनन्, हामी २/३ जनाले छेक्न सकेनौं।’

अस्पतालबाट अन्त्येष्टिका लागि शव बुटवल धागो कारखानानजिकै लगिएको ओलीले जानकारी दिए।

‘तपाईंहरुले रोकेर हुँदै हुँदैन, नेपाल सरकारको नियम हो भन्नुभयो। उहाँहरुले सहमतिको कुरै गर्नुभएन जबजस्ती गर्नुभएको हो,’ ओलीले भने।

तर, रुपन्देहीका प्रहरी प्रमुख हेम थापाले भने मृतकको शव जबर्जस्ती नउठाइएको दाबी गरे।

‘हामीले उठाएको मुचुल्कामा उहाँहरुले हस्ताक्षर गर्नुभयो,’ थापाले नेपालखबरसँग भने, ‘परिवारको सहमतिमै शव उठाइएको हो।’

अस्पताल र परिवारबीच सहमति नहुँदा बिहीबार बिहानदेखि उनको अन्त्येष्टि हुन सकेको थिएन।

वैशाखको ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि गुल्मीबाट अर्घाखाँची हुँदै बुटवलस्थित क्रिमसन अस्पतालमा आइपुगेका ती व्यक्तिमा जेठ ४ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।

‘अस्पतालले भने संक्रमणका कारण शरीरका अंग फेल भएर उनको मृत्यु भएको बताएको छ,’ प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख उमाशंकर चौधरीले भने।

तर, परिवारजनले भने अस्पतालको लापरबाहीका कारण उनको ज्यान गएको हुनसक्ने आरोप लगाउँदै आएको छ।

‘अहिलेसम्म उहाँलाई कहाँबाट कोरोना सर्‍यो भन्ने टुंगो लागेको छैन। गाउँदेखि नै म उहाँसँगै छु, मलाई देखिएको छैन,’ आफन्त ओली भन्छन्।

मृतक गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहका बासिन्दा हुन्।

याे पनि: कोरोनाका कारण मृत्यु हुने गुल्मीका शिक्षकको दोश्रो रिपोर्ट पनि कोरोना पोजिटिभ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .