ad ad

समाज


रुकुम हत्या प्रकरणः युवतीका बाआमा भन्छन्– त्यसपछि के भयो हामीलाई पनि थाहा भएन

रुकुम हत्या प्रकरणः युवतीका बाआमा भन्छन्– त्यसपछि के भयो हामीलाई पनि थाहा भएन

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ८:६,

पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा शनिबार बेलुका भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रेममा रहेका एक दलित युवा र गैरदलित युवतीबीच विवाह गर्ने विषयमा विवाद चर्केपछि तीन युवाको हत्या भएको थियो भने अन्य तीन वेपत्ता छन्। केहि घाइते भएका छन्।

जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीले बिहे गर्न लागेपछि साे विवाद चर्केकाे हाे।

सो घट्नामा रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग विहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जनालाई गाउँलेले कुटपिट गर्दै खेदेका थिए।

युवती, उनका बाआमा र वडाध्यक्षसहित स्थानीय १२ जनालाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो।

उनीहरुमाथी प्रारम्भिक बयान लिने क्रम सुरु भएको रुकुमपश्चिम प्रहरीका अनुसन्धान अधिकृतले नेपालखबरलाई बताए। युवतीका वुवा आमाले छोरी लिन भनी ठूलो संख्यामा मानिसहरु आएपछि उनीहरुलाई नियन्त्रणमा लिन गाउँले गुहारेको बताएका छन्।

‘गाउँले आएपछि उनीहरुलाई कुटपीट गर्नथाले, ती युवाहरु भाग्न थाले। गाउँले र हामीले लखेट्न थाल्यौं, त्यसपछि के के भयो त्यो त हामीलाई पनि थाहा भएन,’ युवतीका बाआमाले प्रहरीसँगको वयानमा बताएका छन्।

नदीमा मृत भेटिएकालाई मारेर फालियो वा आफैं भाग्नेक्रममा हाम फाले भन्ने पनि आफूहरुले नदेखेको युवतीका बाआमाको दाबी छ।

जाजरकोट र रुकुमपश्चिमको सीमानामा रहेको भेरी नदीमा तीन जनाको छुट्टाछुट्टै स्थानमा शव फेला परेको हो। तीन जना अझै बेपत्ता छन्।

सोही वडाका वडाध्यक्षलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर उनले लकडाउनका बेला ठूलो संख्यामा आएका कारण नियन्त्रणमा लिन गाउँलेहरुलाई भनेको बताएका छन्।

‘हामीले कुट्न वा मार्नका लागि लखेटेका थिएनौं, लकडाउनमा आएकाले पक्राउ गरेर क्वारेन्टिनमा राख्ने भनेका थियौं’, उनले प्रहरीसँग भने, ‘तर यस्तो हुनपुग्यो म त घटनास्थलभन्दा टाढै थिएँ।’

उनले यस्तो बताए पनि सत्य के हो भनेर अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकाले नेपालखबरलाई बताए।

हराएका तीन जनालाई खोज्न प्रहरीले प्रदेश प्रहरी मार्फत त्यसक्षेत्रका सबै जिल्लामा हुलियासहित परिपत्र गर्ने भएको छ। यस्तै नदीमा खोज्नका लागि गोताखोर मगाउने तयारी भएको प्रहरी निरीक्षक रोकाले बताए।

नदीमा फेला परेका तीनै जनाको शव जाजरकोट लगिएको छ। अन्य तीन जनाको शव फेला परेको छैन। यसअघि तीन जनाको छुट्टा छुट्टै स्थानमा शव फेला परेकाले उनीहरु पनि नदीमा बेपत्ता भएको प्रहरीको अनुमान छ।

घटना अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा मंगलबार छानविन समिति गठन गरेको छ।

याे पनि: 
रुकुम पश्चिमको घटनाको छानबिन लागि संसदीय समिति बनाउन कांग्रेसको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .