एक जनाको ज्यान जानेगरी पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा दोषीलाई बचाउन नक्कली चालक खडा गरेका प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर गरिएको छ।
ईलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रहरी निरीक्षक लोक बहादुर जिसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
इन्स्पेक्टर जिसीले गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटना घटाउने वास्तविक चालकलाई छोडी नक्कली सवारी चालक खडा गरी थुनामा राखेका थिए। सो घटनाका वास्तविक चालक बोधराज पाण्डे रहेकोमा उनले पाण्डेलाई जोगाउन किशुना महतोलाई नक्कली चालक बनाएका थिए।
वैशाख ११ मा बोधराज पाण्डेले चलाएको बा२०च ११७९ नंको जिपले ना.२८ प ४६८५ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनामा आर्थिक लेनदेनका आधारमा प्रहरीले किशुना महतोलाई नक्कली चालक बनाई उनलाई हिरासतमा राखेर मुद्दा चलाएको थियो।
निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख खाएर पाण्डेको साटो महतोलाई नक्कली चालक बनाएर उभ्याएका पिडीत परिवारकाे दावी छ। महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन हुन्।
घटनाको अनुसन्धान अधिकृत इन्स्पेक्टर जिसी, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बल बहादुर वली समेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरेको अख्तियारको ठहर छ।
घटनाका मुख्य आरोपी इन्स्पेक्टर जिसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवल्दार बलबहादुर वलीसहित गाडी चालक पाण्डे र मतियार शालिकराम पाण्डे विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
याे पनि पढ्नुहाेस्: १० लाख रुपैयाँमा नक्कली चालक खडा गर्ने इन्स्पेक्टर अख्तियारको फन्दामा
प्रतिक्रिया