ad ad

समाज


कोरोना लाग्नै नदिने र लागेपछि निको पार्ने औषधि नेपालमै बनेको दाबी, थालियाे परीक्षण प्रक्रिया

कोरोना लाग्नै नदिने र लागेपछि निको पार्ने औषधि नेपालमै बनेको दाबी, थालियाे परीक्षण प्रक्रिया

रिपेश दाहाल
जेठ २३, २०७७ शुक्रबार १४:०,

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (हेटौंडा) का सहप्राध्यापक डा. ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत त्यसको परीक्षण प्रक्रिया थालेका छन्।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आज (शुक्रबार)देखि औषधिको औपचारिक तथा कानुनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन्।

औषधिबारे मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग छलफल गरेका थिए। छलफलपछि औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए।

‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत औषधिको परीक्षणलगायतका काम हुन्छन्,’ उनले भने।

डा. दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ। आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्ने जिकिर गर्ने डा. दासका अनुसार रोगको निदान गर्ने र संक्रमण हुन नदिने गरी दुई भागमा ९ प्रकारका औषधि तयार पारिएको छ।

तीमध्ये ६ प्रकारका औषधिलाई संक्रमण लाग्न नदिन सुईका रूपमा प्रयोग गर्न सकिने तथा ३ प्रकारका औषधिलाई संक्रमणपछि उपचारका लागि र रोग दिानका लागि प्रयोग गर्न सकिने उनको दाबी छ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रासायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको दाबी छ।

डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने जानकारी दिए।

कोरोना द्रुत संक्रामक भाइरस भएकाले यसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको, तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ।

वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गरिरहेका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने, तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ।

औषधि बनेकोबारे पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण भएपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो। नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो।

वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसमा पढाउँछन्। बारा कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौंडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामासमेत पढाएका थिए।

यसैबीच डाक्टर दासलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रूपमा समेत उत्पादन गर्न सुझाव दिएको छ।

भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि डब्लूएचओले इमेलमार्फत सुझाव दिएको डाक्टर दासले जानकारी दिए। उनका अनुसार डब्लूएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ।

डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लूएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रूपमा तयार पार्न अनुरोध गरेको हो।

डब्लूएचओले औषधिको कम्पोजिसनबारे थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको उनले जानकारी दिए। ‘डब्लूएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौ भनेरसमेत सोधेको छ,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .