ad ad

समाज


विकट पहाड चढ्दै कोरोना, यस्ता छन् जोखिम

विकट पहाड चढ्दै कोरोना, यस्ता छन् जोखिम

सागर न्यौपाने
जेठ २६, २०७७ सोमबार १४:२१,

साेर्‍ह दिनअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्या १३ मात्र थियो।

जेठ १० गतेसम्म कर्णालीको २ जिल्लामा ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो। उता सुदूरपश्चिमका ४ जिल्लामा ९ जनालाई संक्रमण भएको पुष्टि भएको थियो।

त्यो दिनसम्म क्वारेन्टिनमा पनि कम मानिस रहेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कर्णाली प्रदेशमा जेठ १० गतेसम्म जम्मा १६ सय ७० जना क्वारेन्टिनमा थिए। यस्तै

सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय २ जना थिए।

तर, त्यतिबेला प्रदेश ५ र २ मा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको थियो।

त्यतिबेला प्रदेश ५ मा २ सय ४७ जना संक्रमित थिए भने प्रदेश २ मा १ सय ६६ जना थिए।

१६ दिनपछि सुदूरपश्चिम र कर्णालीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

दुबै प्रदेशका १९ वटै जिल्लामा संक्रमित भेटिएपछि तराईका केही जिल्लामा तीव्र रुपमा फैलिएको कोरोना पहाड चढेको छ।

यसरी केहि दिनयता सो भाइरस तराई र पहाड सबैतिर फैलिँदा आइपर्नसक्ने चुनौतिले विज्ञहरुलाई पनि झस्काएको छ।

देशभर संक्रमितको संख्या ३ हजार ७ सय ६२ हुँदा कर्णाली र सुदुरपश्चिममा मात्रै ८ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

क्वारेन्टिनमा रहेका सबैको परीक्षण हुने हो भने दुईवटै प्रदेशमा संक्रमितको संख्या डरलाग्दो गरी बढ्ने विज्ञहरुको आकलन छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा.अनुप बास्तोलाले भारतबाट नेपाल भित्रिने संख्या बढेसँगै क्वारेन्टिनमा राम्रो परीक्षण नभएका कारण गाउँ गाउँमा संक्रमण फैलिएको बताए।

‘नेपालीहरु ठूलो संख्यामा रहेका केहि देशमा संक्रमण तीव्ररुपमा फैलिरहेको थियो र तिनै देशबाट फर्किएर आएका युवाहरु गाउँ गाउँ पुगे,’ डा. बास्तोले भने, ‘समुदायमा फैलिसकेको त छैन तर, लकडाउन गरिएन र उनीहरु निष्फिक्री हिडडुल गरे भने अब पहाडी जिल्लामा फैलने खतरा छ।’

डा. बास्तोलाले कोरोना पहाड पुगेको नभई रोगग्रस्त क्षेत्रबाट नेपाली ल्याउँदा सँगै संक्रमण आएकोले समस्या बढेको बताए।

सुदुर पश्चिममा पछिल्ला एक हप्तामा क्वारेन्टिनमा बसेका ५ जना र अन्य दुईसहित ७ जनाको मृत्यु भइसकेको छ। कर्णाली प्रदेशमा कोरोनाकै कारण २ जनाको ज्यान गएको छ।

कर्णाली प्रदेशको दैलेख जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। दैलेखको नारायण नगरपालिकामा मात्र २ सय संक्रमित छन्। यस्तै महाबु गाउँपालिकामा १ सय १० जना संक्रमित छन्।

दैलेख जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निरञ्जन पन्तका अनुसार जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएको छ।

‘जिल्लामा रहेका संक्रमितलाई विभिन्न ठाउँको विद्यालय, क्याम्पसको पक्की भवनमा बनाइएका आइसोलेसनमा राखिएको छ,’ डा. पन्तले नेपालखबरसँग टेलिफोनमा भने, ‘दैलेखमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।’

उनका अनुसार संक्रमितको संख्या बढेपछि जुम्लाबाट २ जना डाक्टर दैलेख आइपुगेका छन् भने प्रदेश सरकारले थप ११ जना डाक्टर पठाउने तयारी गरेको छ।

उनी भन्छन्, ‘वर्षा लागेपछि चुनौति झनै थपिएको छ, सडक भत्केपछि कसरी विरामीलाई अस्पताल ल्याउने? फेरि हाम्रो यो जिल्लाका केही गाउँपालिकामा त अस्पताल नै छैनन्।’

महाबु गाउँपालिकामा डाक्टर नै नभएपछि २ दिनभित्र पठाउने तयारी भइरहेको डा. पन्तले जानकारी दिए।

‘जिल्लाका विकट स्थानमा तत्काल उपचार सेवा दिन आवश्यक केही चिकित्सक पठाउने तयारी गरेका छौं, त्यस गाउँपालिकामा स्टेसन बनाएर राख्ने तयारी छ,’ डा. पन्तले भने।

उता ७ जनाको ज्यान गइसकेको सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले तयारी तीव्र पारेको जनाएको छ।

सो प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले प्रदेशमा रहेका विभिन्न क्वारेन्टिनमा बसेका ५ जनाको मृत्यु भएपनि उनीहरुलाई कोरोना नलागेको बताए।

‘यो प्रदेशमा ५ जनाको मृत्यु भएको साँचो हो,’ डा. अवस्थीले भने, ‘उनीहरुमा दीर्घरोग, मृगौला रोग लगायत अन्य समस्या थियो।’

प्रदेशको ९ वटै जिल्लाका अस्पतालमा चिकित्सकलाई तयारी अवस्थामा राखिएको उनले दाबी गरे।

‘महामारी आउने खतरा देखेर हामीले नौ वटै जिल्लाका अस्पतालमा आवश्यक तयारी गरेका छौं, अधिकांस रोगको उपचार जिल्लामै हुन्छ, नसक्नेहरुलाई धनगढीमा ल्याएर उपचार गछौं,’ उनले भने।

तर, सो प्रदेशमा यहि बेला मलेरियाको जोखिम भने बढेको छ। अहिलेसम्म ४ जनामा मलेरिया संक्रमण देखिएर उपचार गरेको डा. अवस्थीले बताए।

भारतबाट आउने संख्या बढ्न थालेपछि प्रदेश सरकारले नयाँ रणनीति लिएको छ। सोमबारसम्म ६४ हजार बढी क्वारेन्टिनमा राखिएको छ।

‘क्वारेन्टिन भरिएर स्थानको अभाव भएपछि १०-१५ दिन क्वारेन्टिन बसेका, र भारतबाट आउँदै गरेकालाई सिधैँ घर पठाउने र घरकै आइसोलेसनमा राख्नेछौं,’ डा. अवस्थीले थपे।

सुदुर पश्चिम प्रदेशमा अझै ५० हजार नेपाली भारतबाट भित्रिने अनुमान गरिएको छ।

सुदूर पश्चिम प्रदेशको कोरोना परीक्षण गर्ने सेती प्रादेशिक अस्पतालले उसको ल्याबमा क्षमताभन्दा बढि स्वाब (नमूना) थुप्रिएपछि अहिले कोरोना परीक्षणका लागि स्वाब संकलन समेत रोकेको छ। यसले गर्दा भारतबाटै आएका हजारौं मानिस परीक्षणबाट समेत बन्चित छन्।

काेराेना अहिलेसम्म देशका झण्डै सबै पहाडी तथा मधेसी जिल्लामा पुगिसकेकाे छ। त्यसमा पनि सुदूरपश्चिम र कर्णाली धेरै विकट पहाडी जिल्लाहरुमा अहिले पनि यातायातको पहुँच छैन।

ती जिल्लामा कोरोना संक्रमितमा श्वासप्रश्वास लगायतका गम्भीर जटिलता देखिए भने उनीहरुलाई तत्काल राम्रो अस्पतालसम्म पुर्‍याउनै पनि संभव हुँदैन।

त्यसो त प्रदेशले आपतकालिन अवस्थाको लागि हेलिकप्टर समेत माग गरेको छ। तर, अहिलेसम्म केन्द्र सरकारबाट हेलिकप्टर दिने कुनै निर्णय भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .