ad ad

समाज


संकटका बाबजूद नियमित सेवा दिँदैछन् काठमाडौँका सरकारी अस्पताल

संकटका बाबजूद नियमित सेवा दिँदैछन् काठमाडौँका सरकारी अस्पताल

यज्ञराज जोशी
जेठ २७, २०७७ मंगलबार ११:५७,

कोरोना भारइस संकटका बाबजूद आफूहरुले उपचार सेवा नियमित रुपमा दिइरहेको काठमाडौंका ठूला सरकारी अस्पतालहरुले बताएका छन्।

उपचारका क्रममा कोरोना संक्रमित भेटिएपनि सेवा नियमित राखेको उनीहरुको भनाइ छ।

बढी बिरामीको चाप हुने काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल तथा परोपकार प्रसूति गृहले नियमित सेवा दिँदा हजारौं बिरामीहरु लाभान्वित भएका छन्।

त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराएकी एक महिलासहित सर्जरीका लागि आएकी एक बालिकामा कोरोना पुष्टि भइसकेको छ। सुरुमा प्रसूति वार्डसहित सिल गरिएपनि अहिले सबै सेवा सुरु भइसकेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए।

‘कोरोना देखिँदैमा हामीले अरु सेवा रोक्ने कुरा हुँदैन,’ डा. खड्गाले भने, ‘हाम्रोमा सबै सेवा यथावत सञ्चालन भइरहेका छन्। उपचार आवश्यक हुनेलाई अस्पतालले नियमित दैनिक सबै सेवा दिइरहेको छ।’

काठमाडौंमा बिरामीको चाप अत्याधिक हुने अर्को अस्पताल हो, वीर अस्पताल। पहिलेको तुलनामा अहिले बिरामीहरु घटेपनि ओपीडीमा दैनिक ३ सय बढी र इमर्जेन्सीमा ५० माथि बिरामीले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए।

‘कोभिडका कारण चुनौती थपिएको छ तर हामीले सबै सेवा सञ्चालन गरिराखेकै छौं,’ डा. सेञ्चुरीले भने, ‘ओपीडी, इमर्जेन्सी, सर्जरी, डायलासिस लगायत सबै सेवा दिएकै छौं। देशभरबाट रिफर भएर आएका बिरामीहरुको पनि भर्ना गरेर उपचार गरेका छौं।’

तर, जटिल अवस्थामा आउने बिरामीहरुको समयमै पीसीआर रिपोर्ट समयमै नआउँदा उपचारमा समस्या हुने गरेको उनले बताए। अस्पतालका १५ सय हाराहारीका स्टाफलाई पीपीई लगायतका सामग्री उपलब्ध गराउनु पनि चुनौतीपूर्ण रहेको उनले बताए।

दुर्घटनाका बिरामीहरु उपचार गर्ने वीर अस्पताल छेऊकै ट्रमा सेन्टरका पनि कुनै सेवा रोकिएका छैनन्। तर, पहिलेको तुलनामा ३० प्रतिशत चाप कम भएको अस्पतालका निर्देशक सन्तोष पौडेलले बताए।

‘लकडाउनदेखि अहिलेसम्म कहिलेपनि हामीले कुनै सेवा रोकेका छैनौं। ओपीडी, अपरेसन, फलोअप चलिरहेको छ,’ पौडेलले भने, ‘पहिले नियमित सेवामा १० देखि १२ सम्म अपरेसन हुन्थे भने अहिले ८ देखि १० वटा अपरेसन भइरहेका छन्।’

उनले कोरोनाबाट अस्पताल र स्वास्थ्यकर्मीलाई जोगाउन दूरी कायम गरेर ओपीडी सञ्चालन गर्ने, हप्तामा परिवर्तन हुनेगरी स्वास्थ्यकर्मीको व्यवस्था गर्नुका साथै आइसोलेसन बेडहरुको व्यवस्था गरिएको जनाए।

शंकास्पद बिरामी आए उनीहरुलाई राख्न अस्पतालले इमर्जेन्सीमा ६ वटा बेड र आईसीयूमा एउटा आइसोलेसन बेड छुट्टाएको छ। यस्तै तत्काल अपरेसन गर्नुपर्नेको सुरक्षा सामाग्रीसहित अपरेसन गरिने तथा अन्यको पीसीआर रिपोर्ट पर्खेर अपरेसन गर्ने गरेको पौडेलले बताए।

यस्तै परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीले सूचना जारी गरेर आफ्नो सेवा सञ्चालनमा रहेको जनाएको छ। अस्पतालले पेइङ क्लिनिक सेवाबाहेक इमर्जेन्सी तथा ओपीडी सेवा नियमित रुपमा सञ्चालनमा रहेको जनाएको छ।

बानेश्वरस्थित सिभिल अस्पतालले एकाधबाहेक सबै सेवा नियमित रुपमा सञ्चालन गरिरहेको जनाएको छ। अस्पतालका एडमिन अफिसर रञ्जना नेपालका अनुसार अस्पतालबाट अहिलेपनि दैनिक २ सयदेखि २ सय ५० सम्म बिरामीले सेवा लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .