ad ad

समाज


बाँदर धपाउन बन्यो उपकरण, वालिङका किसानलाई वितरण

बाँदर धपाउन बन्यो उपकरण, वालिङका किसानलाई वितरण

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १०:४८,

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो।

‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने जनाइएको छ।

बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

‘वालिङसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो’, उनले भने, ‘यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराइएको छ।’ सो प्रविधि सरल र सस्तो रहेको जनाइएको छ।

‘पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गर्छौं’ उनले भने, ‘प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ।’

नगरपालिकाले बाँदर आतंकबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा १०० उपकरण वितरण गरेको हो। भिरकोट–१ हेलुका बासिन्दा भवि कोइरालाले निर्माण गरेको यन्त्रलाई परिमार्जन गर्दै वालिङ–८ का इन्जिनियर सुरज रिजालले उत्पादन गरेका हुन्।

बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे।

गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतंक बाँदरले मच्चाउने गरेकामा नगरपालिकाले किसानको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेको वालिङ–५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताए।

‘गाउँमा मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्न लगाउँछौँ तर बाँदरको समस्याले निकै सास्ती भएको थियो’, किसान लामिछानेले भने, ‘यो यन्त्र चलाउन पनि सजिलो र यसबाट आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखेको छु।’

आलोपालो वा प्रत्येक घरबाट व्यावसायिकरूपमा लगाइएको सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारीमा बाँदरले केही खाने र केही टिपेर फाल्ने भएकाले किसान चिन्तित थिए। त्यस्तै, वालिङ–८ भीमटारीका किसान सूर्य रेग्मीले नगरपालिका कार्यालयबाट यन्त्र चलाउने प्रशिक्षण लिएर यन्त्र गाउँमा ल्याएको बताएका छन्।

‘गाउँमा कसैले व्यावसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाउनुभएको छ बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो’, किसान रेग्मीले भने, ‘यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुका साथै नगरपालिकाले किसानलाई उपकरण गराएकामा हामी खुशी छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .