ad ad

समाज


बंगलादेशमा एमबीबीएस गरेर फर्केका विद्यार्थी भन्छन्ः कोरोना संक्रमितको उपचारमा खटिन तयार छौं

बंगलादेशमा एमबीबीएस गरेर फर्केका विद्यार्थी भन्छन्ः कोरोना संक्रमितको उपचारमा खटिन तयार छौं

यज्ञराज जोशी
असार २, २०७७ मंगलबार १०:४६,

कोरोना महामारीका बेला बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्किएका नेपाली विधार्थीहरुले सरकारले चाहेमा आफूहरु नेपालमा कोरोनाविरुद्धको लडाईमा खटिन तयार रहेको बताएका छन्।

उनीहरुले सुरक्षाको प्रत्याभुतिसहित सरकारले आह्वान गरे आफूहरु कोभिड–१९ संक्रमितको उपचार गर्न तयार रहेको बताएका हुन। सरकारले कोरोना महामारीका कारण बंगलादेशबाट साढे ८ सय नेपाली नागरिक फर्काउँदैछ।

त्यसमध्ये साढे ६ सय मेडिकल शिक्षामा अध्ययनरत विधार्थी रहेको नेपाल मेडिकल बिधार्थी संघ, बंगलादेशका संस्थापक अध्यक्ष नवीन यादवले बताए।

‘फर्कनेमध्ये एक सय देखि डेढ सयसम्म एमबीबीएस सकेका हुनुहुन्छ। त्यसमा ४५ जना एमडी तथा एमएस गरेका हुनुहुन्छ,’ यादवले भने।

गत शनिबार बंगलादेशबाट २५८ जना स्वदेश फर्किएसकेका छन। यस्तै बुधबार हुने अर्को उडानमा थप १ सय ५४ जना स्वदेश फर्कदैछन। पीसीआर परीक्षणमा नेगेटिभ देखिएकाहरुलाई मात्रै बंगलादेशबाट नेपाल फर्काएको हो। शनिबार फर्किएकाहरु अहिले १४ दिनको होम क्वारेन्टिनमा छन।

शनिबार फर्किएकामध्ये जोन श्रेष्ठ होम क्वारेन्टिन अवधि सकिएपछि चिकित्साकर्ममा फर्कने सोचमा छन। क्वारेन्टिन अवधिमा कोभिडका बारेमा अध्ययन गरिरहेको उनले बताए।

‘यस्तो स्वास्थ्य संकटका बेला हामी चिकित्सकको महत्व बढी हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘दिनप्रतिदिन संक्रमितहरु बढिरहेकाले नेपालमा अझै खतरापूर्ण अवस्था नआउला भन्न सकिन्न। यस्तै बेला काम गर्न जानुपर्छ भनेर नै क्वारेन्टिन अवधिमा म कोभिड–१९ सम्बन्धी थप अध्ययन गरिरहेको छु। परेका बेला हामी सरकारलाई साथ दिन तयार छौं।’

बंगलादेशमा एमबीबीएस सकेर फर्किएका हरेन्द्र सिंहले पनि सरकारले यो संकटको घडिमा आफूहरुलाई खटाउने योजना ल्याए तयार रहेको बताए। उनले सुरक्षाका उपायहरु र आधारभुत आवश्यकताहरुको व्यवस्थापन भने सरकारले मिलाउनुपर्नेमा जोड दिए।

‘सुदूरपश्चिम अहिले सबैभन्दा बढि प्रभावित क्षेत्रमा परेको छ। त्यहाँ खटाए पनि म जान तयार छु। तर सुरक्षाका साधनहरु तथा आधारभुत आवश्यकताको प्रत्याभुति हुनुपर्यो। बिना हातहतियार भने युद्धमा जान सकिन्न,’ बझाङ घर भएका उनले भने।

बंगलादेशमा पनि सरकारले डेडिकेटेड कोरोना अस्पतालहरुमा काम गर्न चाहने चिकित्सकका लागि विशेष व्यवस्था गरेको बताउँदै उनले नेपालमा पनि कोरोनाविरुद्ध काम गर्न चाहने चिकित्सकलाई खुला आह्वान गर्न आग्रह गरे।

‘कोभिडविरुद्ध खटिन चाहने चिकित्सकका लागि सरकारले एउटा खुला आह्वान गरेर बोलाओस,’ सिंहले भने, ‘यसरी आएकाहरुलाई आफ्ना मातहतमा राखी सरकारले विभिन्न प्रदेश लगायत आवश्यकता परेका स्थानमा खटाउन सक्छ।’

एमबीबीएससँगै इन्टर्नसिप पनि पुरा गरेर शनिबार नेपाल फर्किएकी अनु गुरुङको पनि कोभिड संकटका बेला आफूहरु सेवा दिन तयार रहेको बताइन। तर, त्यसका लागि पर्याप्त उपकरण र सुरक्षाको प्रत्याभुति हुनुपर्नेमा उनले जोड दिइन।

आवश्यक परे खटाइन्छः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक परे बंगलादेशबाट अध्ययन पूरा गरी आएका चिकित्सकहरुलाई प्रयोग गर्न सकिने जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अहिले देशभित्रकै जनशक्तिले धानिरहेको र आवश्यकता पर्दा सबैलाई प्रयोगमा ल्याइने बताए।

‘अहिले सिस्टमभित्रकै जनशक्तिले पुगिरहेको छ। आवश्यक प¥यो भने बंगलादेशबाट आएकामात्रै नभएर देशमा रहेका अन्य जनशक्तिलाई पनि प्रयोगमा ल्याइनेछ,’ गौतमले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .