कर्णाली प्रदेशमा ठूलो संख्यामा कोरोना संक्रमित निको भएका छन्।
लकडाउन सुरु भएपछि मात्रै भारतबाट ४७ हजार नेपाली फर्केपछि कर्णालीमा संक्रमितको संख्या ह्वात्तै बढेको थियो।
आइतबारसम्म १ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्दै जाँदा त्यही अनुपातमा आइसोलेसन बेडको संख्या थप्दै जानुपरेको थियो।
तर, आइतबारसम्म ९ सय ५६ जना डिस्चार्ज भएर घर फर्केका छन्। त्यसैले अहिले आइसोलेसनमा बस्ने संक्रमितको संख्या घटेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायाण तिवारीले जानकारी दिए।
‘एक समय संक्रमितहरु दैनिक सयमाथिको संख्यामा बढेपछि अस्पतालका बेड भरिएका थिए। क्वारेन्टिनहरुलाई आइसोलेसनमा परिणत गर्नुपरेको थियो,’ उनले भने, ‘अहिले संक्रमित संख्या १४ सयबाट ४ सयमा झरेको छ।’
कोरोनाबाट सबैभन्दा प्रभावितमध्येको एक कर्णाली प्रदेशमा पछिल्लो समय नयाँ संक्रमितको संख्या कम हुँदै गएको छ। मन्त्रालयका अनुसार प्रदेशमा असार ११ गते ७२ जना संक्रमित भेटिएका थिए। त्यसयता १२ गते २६ जना, १३ गते ७ जना र १४ गते २ जना संक्रमित फेला परेका छन्।
उपत्यकामा आइसोलेसन बेड थपिँदै
बागमती प्रदेशमा भने संक्रमित थपिनसक्ने आकलनबीच आइसोलेसन बेडको संख्या थप्ने निर्णय भएको छ।
बागमती प्रदेश कोभिड–१९ संकट व्यवस्थापन समितिले काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा २ हजार ४ सय ५० आइसोलेसन बेड थप्ने निर्णय गरेको हो।
‘प्रदेशमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि र मानिसहरु भित्रिनेक्रम बढेपछि आइसोलेसन शय्या थप्ने निर्णय भएको हो,’ समितिका संयोजक समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘भविष्यलाई विचार गरेर, समस्या नदेखियोस् भनेर आइसोलेसन बेड थप्ने निर्णय गरेका हौं।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो सातासम्म नेपालमा ४० हजार संक्रमित हुनसक्ने प्रक्षेपण गरेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हाल बागमती प्रदेशमा १ हजार २ सय ५८ आइसोलेसन बेड छन्। त्यसमध्ये उपत्यकाको काठमाडौंमा २ सय ५६, ललितपुरमा २ सय २१ र भक्तपुरमा ४२ बेड छन्।
त्यसबाहेक संकट व्यवस्थापन समितिले उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २–२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०–५० वटा आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका योजना शाखा अधिकृत रमेश सुवेदीले जानकारी दिए।
आइतबारसम्म काठमाडौंमा ३० तथा ललितपुर र भक्तपुरमा ७–७ कोरोना संक्रमित भेटिएका छन्। बागमती प्रदेशमा हाल २ सय ६३ जना आइसोलेसनमा छन्। जसमध्ये काठमाडौंमा २० जना र ललितपुरमा ७७ जना छन्।
सुवेदीका अनुसार आइसोलेसन निर्माणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिले स्थानीयतहसँग समन्वयमा गर्ने निर्णय भएको छ।
यस्तै नयाँ भवन निर्माण गर्नुपर्ने भएमा लागत अनुमान लगाएतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने तथा आइसोलेसन वार्ड सञ्चालनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिसँगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने छ।
Shares
प्रतिक्रिया