ad ad

समाज


हिरासतमा दुर्गेशको आत्महत्या प्रकरणः युवती र प्रहरीमाथि अनुसन्धान गर्न माग

हिरासतमा दुर्गेशको आत्महत्या प्रकरणः युवती र प्रहरीमाथि अनुसन्धान गर्न माग

नेपालखबर
असार १८, २०७७ बिहिबार १४:२९,

ललितपुर प्रहरीको हिरासतमा आत्महत्या गरेका दुर्गेश यादवकाे परिवारले अनुसन्धानको माग गर्दै जाहेरी दिएका छन्।

सप्तरीको सिराहा नगरपालिका-७ का दुर्गेले बुधबार बिहान ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन्।

मृतकका आफन्तले दुर्गेशलाई जबरजस्ति करणीको आरोप लगाउने युवती र डीयूटीमा रहेका प्रहरीमाथि माथि पनि अनुसन्धानको माग गर्दै बिहीबार जाहेरी दिएका हुन्।

जाहेरीमा भनिएको छ, ‘दुर्गेश यादव आफैँले झुण्डिएर आत्महत्या गरेको सम्बन्धमा कानुन बमोजिम पोष्टमार्टम समेत गरी दाह संस्कारको लागि जिम्मा पाउँ। साथै जाहेरवाला युवती र डीयूटीमा खटिएका प्रहरी उपर समेत आवश्यक अनुसन्धान गरी पाउँ।’

काठमाडौंको कोटेश्वरमा बसी एचए अध्यन गरिरहेका दुर्गेश अल्का अस्पतालमा कार्यरत थिए। १४ गते राति ललितपुरको ग्वार्कोस्थित मकैबारीमा जबरजस्ति करणी गरेको अभियोगमा त्यही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनलाई राखिएको हिरासतमा सुसाइड नोट फेला परेको छ। सो हिरासत कक्षमा फेला परेको सुसाइड नोटको माथी अंग्रेजीमा लेखिएको छ, ‘आइएम नट अटेम्प्ट द रेप, प्लिज सेभ मी गड।’

त्यसपछि उनले नेपालीमा लेखेका छन्, ‘मैले कसैलाई रेप गरेको छैन, मलाई आरोप लगाइएको छ म त्यस्तो मान्छे पनि होइन, नराम्रो सोचेको होइन, म यस्तो आरोप सहेर बाँच्न सक्दिनँ। म माथि लगाएको आरोप सहेर बाँच्न सक्दिनँ, म आफ्नो कारणमा जिम्मेवार म आफैँ हो। म यो दुनियाँबाट बिदा हुन गइरहेको छु।’

ललितपुर प्रहरी हिरासतमा ७ जना थुनुवा रहे पनि अरु पहिले नै आएका र उनीहरुको कोरोना परीक्षण भइसकेको थियो। उनको स्वाब संकलन गरिए पनि कोरोना परीक्षणको रिपोर्ट नआएकाले छुट्टै राखिएको थियो। यादवलाई ५ दिन म्याद थप गरिएको थियो।

बुधबार बिहान शौचालय गएका यादव निकै समय नआएपछि प्रहरीले बोलाएका थिए। तर उनी नबोलेपछि ढोका फोरिएको थियो। उनी भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धानको लागि ललितपुरका एसपी तुलाबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .