ad ad

समाज


संखुवासभा पहिरो अपडेट : चार जनाको जीवितै उद्धार, बेपत्ता ११ जनाको पहिचान खुल्यो

संखुवासभा पहिरो अपडेट : चार जनाको जीवितै उद्धार, बेपत्ता ११ जनाको पहिचान खुल्यो

नेपालखबर
असार २८, २०७७ आइतबार ७:३५,

 संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ।

पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ। गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो। अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ। दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताए।

पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ।

अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो। घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए। सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ।

त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन्। घटनाको थप विवरण आउन बाँकी छ। मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .