ad ad

समाज


जनस्तरबाट रकम संकलन गरी पीसीआर मेशिन जडान

जनस्तरबाट रकम संकलन गरी पीसीआर मेशिन जडान

नेपालखबर
साउन ६, २०७७ मंगलबार ११:६,

झापामा समुदायबाट संकलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरीद गरिएको छ। प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ।

कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा संकलन गरेर यन्त्र खरिद गरिएको हो। अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिए।

मुलुकमै समुदायबाट चन्दा संकलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पीसीआर ल्याब हो। यसका लागि रु एक करोड २० लाख जति चन्दा संकलन भइसकेको अभियानले जनाएको छ। यसमा अन्तर्राष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ।

‘सम्पूर्ण उपकरण आइपुगेको छ’, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, ‘आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ।’

अभियानले पीसीआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए। प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ। प्रदेश नं १ मै झापामा कोडिभ–१९ का संक्रमित ज्यादा भए तापनि संक्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो।

अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौंको जयश्री श्याम कम्पनीबाट पीसीआर ल्याबका उपकरण खरीद गरिएको बताए। उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ।

पीसीआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उनले बताए। उपकरण जडानका लागि काठमाडौंबाटै इन्जिनियर आएका छन्। कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पीसीआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन्।

सुरुंगा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .