ad ad

समाज


प्रदेश २ का सरकारी अस्पतालमा जम्मा ५ वटा भेन्टिलेटर, अधिकांश सिकिस्त बिरामीलाई बाहिर रेफर

प्रदेश २ का सरकारी अस्पतालमा जम्मा ५ वटा भेन्टिलेटर, अधिकांश सिकिस्त बिरामीलाई बाहिर रेफर

शैलेन्द्र महतो
साउन १६, २०७७ शुक्रबार ६:३९,

प्रदेश २ कोरोना महामारीको उच्च जोखिममा छ। दैनिक दर्जनौं नयाँ संक्रमित थपिएका छन्।

प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुर, नारायण उपक्षेत्रीय अस्पताल र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित तीन ठुला र १० साना गरी १३ सरकारी अस्पताल छन्। सबै अस्पतालमा दैनिकजसो बिरामीको चाप हुन्छ।

कोरोना लगायत अन्य कुनै प्रकारका बिरामी सिकिस्त भएपछि अन्तिम अवस्थामा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ। तर, प्रदेश २ का सरकारी अस्पतालमा ११ वटा मात्रै भेन्टिलेटर छन्। त्यसमा पनि ६ वटा प्रयोगबिहीन छन् भने ५ वटा मात्रै सञ्चालनमा छन्। त्यस्तै आईसीयू बेड पनि २० वटा मात्र उपलब्ध छन्।

गत साता ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पतालमै भर्ना भएका धनुषा, सहिदनगर नगरपालिका–८, का ३८ वर्षीय पुरुषलाई भेन्टिलेटरकै अभावमा धरानस्थित बीपी कोइारला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

प्रदेशिक अस्पताल मात्र २ भेन्टिलेटर, दैनिक आधादर्जन बढी बिरामी रेफर
प्रदेशिक अस्पताल जनकपुरमा ४ वटा भेन्टिलेटर छन्। जसमा दुईवटा बिग्रेर थन्किएका छन् भने दुई वटा मात्रै सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरका निमित प्रमुख डा. जामुन सिंहले बताए।

५/६ वर्ष अघिदेखि एक संस्थाले दिएको एउटा भेन्टिलेटर बिग्रिएको र त्यसको उपकरण नपाउँदा सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ।

‘एउटा त म आउनु अघिदेखि नै थन्किएको छ। त्यसलाई पनि प्रयोगमा ल्याउने धेरै प्रयास गर्यौं। तर, त्यसलाई ठीक गर्न कतै पनि समान नै पाइएन’, बाल रोग विषेशज्ञ समेत रहेको निमित प्रमुख सिंहले भने, ‘अर्को लकडाउन हुनु १/२ महिना अघिदेखि बिग्रिएको छ। त्यसलाई पनि ठीक गरेर संचालनमा ल्याउन धेरै प्रयास गरेँ। तर, लकडाउनले गर्दा समान नपाउँदा बनाउन सकिएको छैन, प्रयास जारी नै राखेका छौं।’

प्रादेशिक अस्पतालमा प्रर्याप्त आइसीयू र भेन्टिलेटर नहुँदा दैनिक ६ देखि ८ जना सिकिस्त बिरामी बाहिर रेफर हुने गरेका छन्।

‘प्रतिदिन ६ देखि ८ जना बिरामीलाई भेन्टिलेटर र आईसीयूकै अभावका कारण अस्पतालले बाहिर रेफर गर्नुपर्ने बाध्यता छ। बिरामीको चाप अत्यधिक छ। उपलब्ध साधन स्रोतले भ्याइँदैन’, डा. सिंहले भने, ‘यस अस्पतालमा कम्तिमा २० वटा भेन्टिलेटर र २० बेडको आइसीयू चाहिन्छ।’

भेन्टिलेटरको लागि पटक–पटक केन्द्र र प्रदेश सरकारलाई अस्पतालले माग गर्दासमेत उपब्ध भएको छैन। अन्तिम समयमा (असार मसान्त नजिक) आएर प्रदेश सरकारले अस्पताललाई मात्र बजेट उपलब्ध गराउँदा सूचना निकालेर किन्न नसकिएको अस्पतालको गुनासो छ। अस्पतालले भेन्टिलेटर किन्नका लागि जेठ महिनामा सूचना समेत निकालेको थियो। कुनै फारमले आवेदन नै नदिँदा किन्न नसकिएको डा. सिंहको भनाइ छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा मात्र ३ भेन्टिलेटर
अहिले सबैभन्दा बढी कोभिड १९ का संक्रमितका उपचार हुने पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मात्र ३ वटा भेन्टिलेटर सञ्चालनमा छन्। यो अस्प्तालमा १० वटा आईसीयू बेड छ। बिरामीको चाप अनुसार भेन्टिलेटर र आईसीयू नहुँदा कहिले कहाँ ३÷४ जना बिरामीलाई समेत बाहिर रेफर गर्नु परेको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

‘बिरामीको चापअनुसार भेन्टिलेटर र आईसीयू पर्याप्त छैन। कहिले कहाँ ३÷४ जना सिकिस्त बिरामीलाई बाहिर रेफर गर्नुपर्छ। पटक–पटक सरकारलाई भेन्टिलेटरको लागि आग्रह गरे। तर, अहिलेसम्म भेन्टिलेटर उपलब्ध भएन’, अस्पताल प्रमुख डा. उपाध्यायले नेपालखबरसँग भने।

सगरमाथा अस्पतालमा ४ भेन्टिलेटर थन्किए, आईसीयू छैन
प्रदेश २ को पूर्वी भेगकै ठूलो अस्पतालको रुपमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा हालसम्म नत आईसीयू संचालनमा आएको छ, नत भेन्टिलेटर नै। नेपाल सरकारले अस्पताललाई एक वर्षअघि उपलब्ध गराएको ४ वटा भेन्टिलेटरसमेत थन्काइएको छ। तर, संचालनको कुनै तयारी छैन।

आईसीयू र भेन्टिलेटर अभावमा यहाँबाट पनि सिकिस्त बिरामीलाई बाहिर रेफर गर्ने गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनितकुमार झाले आफू आउनु झण्डै एक वर्षअघिदेखि नै चार वटा नयाँ भेन्टिलेटर संरचना अभावमा थन्किएको बताए।

‘भेन्टिलेटर राखिएको छ। तर अस्पतालसँग जडान गर्ने संरचना र चलाउने जनशक्ति छैन। कसरी कहाँ जडान गर्ने र संचालनमा ल्याउने?’ अस्पताल प्रमुख डा. झाले भने, ‘म आएलगतै भेन्टिलेटर र आईसीयू जडानको लागि पहल गरिरहेको छु।’

भेन्टिलेटर र आईसीयू नहुँदा अस्पतालसँग सिकिस्त बिरामीलाई रेफर गर्नुको अर्को विकल्प छैन। यहाँबाट प्रायः जसो सिकिस्त बिरामी रेफर गरेर उपचारका लागि धरान र विराटनगर पठाइने गरेको अस्पतालले जनाएको छ।

दुई मेडिकल कलेजमा ३० भेन्टिलेटर
सरकारी अस्पतालमा ५ वटा भेन्टिलेटर सञ्चालनमा छन्। त्यो भन्दा ५ गुणाबढी भेन्टिलेटर प्रदेश २ को दुईवटा मेडिकल कलेज शिक्षण अस्पतालमा छ। अर्ध सरकारी स्वामित्व रहेको पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कजेल शिक्षण अस्पतालमा २० वटा र धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १० वटा भेन्टिलेटर रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले बताए।

तर, जनसंखया र बिरामीको चापको अनुपातमा कम्तिमा प्रदेश २ मा १ सय बेडको आईसीयू र सोही संख्यामा भेन्टिलेटर हुनुपर्ने प्रादेशिक अस्पतालका निमित प्रमुख डा. जामुन सिंहको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .