विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ।
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त संक्रमणबाट मृत्युु भइसकेको बताइएको छ।
मकवानपुरमा हालसम्म संक्रमितको संख्या २६० पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ।
प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् । संक्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ। मन्त्रालयबाट प्राप्त जानकारीअनुसार कोरोना संक्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ। प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित फेला परेकाले कडाइ गरिएको छ।
यसैबीच कोरोना संक्रमण नियन्त्रणका लागि हेटौँडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ। निषेधाज्ञाका कारण हेटौँडालगायत आसपास बजार पूर्ण रुपमा बन्द रहेका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। रासस
Shares
प्रतिक्रिया