ad ad

समाज


दुई सातामा कञ्चनपुरमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु, समुदायमा त्रास

दुई सातामा कञ्चनपुरमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु, समुदायमा त्रास

गोकुल जोशी
भदौ ११, २०७७ बिहिबार १३:५९,

कञ्चनपुरमा उच्च ज्वरो देखिएका ६ बिरामीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका ६ बिरामीको मृत्यु भएको हो।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए। ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो। अन्यत्र अस्पताल रेफर गरिएका उनीहरुको केहीको उपचार तथा केहीको अस्पतालबाट घर आए पछि मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

‘सुरुमा ४ जनाको मृत्यु भएको खबर आएको थियो। पछिल्लो जानकारी अनुसार रेफर गरिएका ६ जनाकै मृत्यु भएको जानकारी प्राप्त भएको छ’ उनले भने।

उनका अनुसार उच्च ज्वरो देखिएपछि रेफर गरिएका महाकाली नगरपालिका–६ की १३ वर्षीया पुजा बोगटी, वडा नम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडानम्बर ४ का २१ वर्षीय प्रेम चन्द, वडा नम्बर १ का १५ वर्षीय पंकज चन्द, वडा नम्बर ३ का १३ वर्षीय रेशमी खड्का र वडा नम्बर १ का ३३ वर्षीय पुरुषको उच्च ज्वरोका कारण मृत्यु भएको हो। मृत्युको कारण अझै पहिचान हुन सकेको छैन।

उच्च ज्वरो सहित अज्ञात रोगले दुई साताको अवधिमा ६ जनाको मृत्यु भए पछि स्थानीयमा त्रास फैलिएको छ। अहिलेसम्म त्यस्ता लक्षणका ९ बिरामी अस्पतालको सम्पर्कमा आएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ। एक जनाको सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ। दुई जना निको भएर घर फर्केका छन्।

‘साउन अन्तिमदेखि भदौँको ६÷७ गतेसम्म त्यस्तो समस्या लिएर बिरामी अस्पताल आएको थिए। तर त्यस पछि कोही पनि आएका छैनन्’ उनले भने।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको खुलेको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ। यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

‘उच्चज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाइरससँग नमिलेका कारण स्वाब लिएनौँ। अहिले उहाँहरुको अन्त्यष्टी भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो।’

उनका अनुसार मृतकहरुमा उच्च ज्वरो सहित मस्तिष्क ज्वरोका प्रमुख लक्षण देखिएका थियाे।

‘उच्च ज्वरो कोरोनाको लक्षण पनि हो तर ज्वरोसंँग अरु कुनै लक्षण नदेखिएकाले हामीले स्वाब लिएनौँ। रेफर गरिएका अस्पतालले स्वाब लिएका हुनसक्छन्’ उनले भने, ‘पोजेटिभ वा नेगेटिभ रिपोर्ट के आयो भनि जानकारी अहिलेसम्म आएको छैन्।’

मृतकहरुको आन्तरिक ट्राभल हिस्ट्री रहेको छ।

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्चज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ।

‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ। स्वाब संकलन गर्नु पथ्र्यो,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने, ‘शंकास्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौँ।’

याे पनि: कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु, स्वाब नलिएकोमा उठ्यो प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .