ad ad

समाज


उच्च ज्वरोले एकै नगरपालिकामा ८ को ज्यान लियो, दिन–प्रतिदिन बढ्दै बिरामी

उच्च ज्वरोले एकै नगरपालिकामा ८ को ज्यान लियो, दिन–प्रतिदिन बढ्दै बिरामी

गोकुल जोशी
भदौ १३, २०७७ शनिबार १०:७,

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ८ बिरामीको मृत्यु भएको छ।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका ८ जनाको मृत्यु भएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। मृतक ८ जनामध्ये ६ जना दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको सम्पर्कमा आएका हुन् भने दुई जना बाहिरका हुन्।

ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो। अन्यत्र अस्पताल रेफर गरिएका उनीहरु केहीको उपचार तथा केहीको अस्पतालबाट घर आएपछि मृत्यु भएको हो।

प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरिएका ६ जना र आफैँ उपचारमा गएका २ जना गरी ८ जनाको मृत्यु भएको नगर प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा वडा नम्बर ७ का १३ वर्षीया पूजा बोगटी, वडा नम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडा नम्बर ४ का २१ वर्षीय प्रेम चन्द, वडा नम्बर १ का १५ वर्षीय पंकज चन्द, २५ वर्षीय मोहन दमाई, वडा नम्बर ३ का ३० वर्षीय मानबहादुर सुनार, ७५ वर्षीय तुलसिंह थापा र ३८ वर्षीय रतन बुढामगर रहेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार मृतकहरुमा उच्च ज्वरो, डब्लूबीसीको मात्रा बढी र स्मरण शक्ति कम हुने लक्षण देखिएको छ। ती लक्षण देखिएको दुई/तीन दिनभित्रै उनीहरुको मृत्यु भएको पाइएको छ।

रोग पहिचान भएन
उच्च ज्वरो लक्षण देखिएका बिरामीको मृत्यु भएको दुई साता बितिसक्दा पनि अहिलेसम्म रोगको पहिचान हुन सकेको छैन। चिकित्सकहरु विभिन्न कारण देखाउँदै पन्छिन खोजिरहेका छन्।

दोधारा–चाँदनीमा पछिल्लो केही दिन यता ज्वरोका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन्। ‘प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा १०÷१५ जना ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। उच्च ज्वरो तथा जटिल प्रकृतिका बिरामीलाई यताबाट रेफर गरिदिने गर्छौ’, प्रवक्ता सिजालीले भने।

अज्ञात रोगका कारण मृत्यु हुन थालेपछि समुदायमा त्रास फैलिएको छ। अहिलेसम्म उच्च ज्वरोका ९ बिरामी अस्पतालको सम्पर्कमा आएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

उनका अनुसार तीमध्ये ६ जनाको मृत्यु भएको छ। एक जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। दुई जना निको भएर घर फर्केका छन्।

साउन अन्तिम सातादेखि ती बिरामी अस्पतालको सम्पर्कमा आएका हुन्। समस्या विकराल बन्दै गएपछि रोग पहिचानमा सहयोगका लागि जिल्ला, प्रदेश र केन्द्र सरकारलाई पत्राचार गरिएको प्रवक्ता सिजालीले जानकारी दिए। रोगको पहिचान हुन नसक्दा त्रासको अवस्था सिर्जना भएको उनले बताए।

परीक्षणका लागि नमूना काठमाडौँ पठाइयो
स्वास्थ्य कार्यालय कञ्चनपुरले जापानिज इन्फ्लाइटिस परीक्षणका लागि बिरामीको नमूना काठमाडौँ पठाएको जनाएको छ। तर, रिपोर्ट भने अझै आइनपुेको कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

‘उच्च ज्वरो भएकोले कोरोनाको आशंका हुन्छ। कोरोना परीक्षणका लागि स्वाब लिनु पर्ने थियो तर लिइएन’, उनले भने, ‘जापनिज इन्फ्लाइटिस परीक्षणका लागि नमूना काठमाडौँ पठाएका छौँ।’ कोभिड–१९ महामारी भए पनि आफूहरुले बिरामीमा देखिएका लक्षणबाट मेनिन्जाइटिस र जापानिज इन्फ्लाइटिसको आशंका गरेको चिकित्सकको भनाइ छ।

कोरोना परीक्षणका लागि स्वाब लिइएन
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको पाइएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ । यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

‘उच्च ज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाइरससँग नमिलेका कारण स्वाब लिएनौँ। अहिले उहाँहरुको अन्त्यष्टि भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो।’

उनका अनुसार मृतकहरुमा उच्च ज्वरोसहित मस्तिष्क ज्वरोका प्रमुख लक्षण देखिएका थियो। ‘उच्च ज्वरो कोरोनाको लक्षण पनि हो तर ज्वरोसंँग अरु कुनै लक्षण नदेखिएकाले हामीले स्वाब लिएनौँ। रेफर गरिएका अस्पतालले स्वाब लिएका हुनसक्छन्’ उनले भने, ‘पोजेटिभ वा नेगेटिभ रिपोर्ट के आयो भनि जानकारी अहिलेसम्म आएको छैन।’

मृतकहरुको आन्तरिक ट्राभल हिस्ट्री रहेको छ। यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्च ज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ। अब आउने बिरामीको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन भट्टले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .